लक्ष्मी तिमिल्सेना
जमुना (बाँके), फागुन १७ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई लक्षित गरी बाँके जिल्लामा गरिएको सुरक्षा तयारी प्रभावकारी र सन्तोषजनक रहेको बताउनुभएको छ । बाँकेका सुरक्षा निकायका प्रमुखहरूसँगको छलफल तथा स्थलगत जानकारीपछि आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
गृहमन्त्री अर्यालका अनुसार जिल्लाको समग्र शान्ति सुरक्षा, निर्वाचन केन्द्रित रणनीति तथा सम्भावित चुनौतीबारे प्रत्यक्ष जानकारी लिन उहाँ यहाँ आउनुभएको हो । उहाँले भन्नुभयो, “राम्रा अभ्यास भएका छन्, केही चुनौती पनि देखिएका छन् । ती चुनौती समाधानका लागि सुरक्षा निकायले तयार पारेका योजना र रणनीति बुझ्न आएका हौँ ।” जिल्लाका सुरक्षा प्रमुखहरूले तयारीलाई सुदृढ रूपमा अघि बढाएको उहाँको भनाइ थियो ।
उहाँले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी तथा मुख्य निर्वाचन अधिकृतको कार्यसम्पादनको प्रशंसा गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी गरिएको पूर्वतयारी प्रभावकारी देखिएको उल्लेख गर्नुभयो । देशव्यापी रूपमा सुरक्षा अवस्था मजबुत बन्दै गएको र निर्वाचनको माहोल सकारात्मक रूपमा अघि बढिरहेको जनाउँदै गृहमन्त्री अर्यालले निर्वाचन बिथोल्न खोज्ने समूहप्रति कडा चेतावनी दिनुभयो ।
“ती कुनै राजनीतिक दल होइनन्, छुट्टाछुट्टै समूह हुन् । कानुनविपरीत गतिविधि गरी मताधिकारजस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध पुर्याउने जोसुकैलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।
बझाङको निर्वाचन अवस्थाबारे बुझ्न नेपालगन्ज विमानस्थल आई पुग्नुभएका गृहमन्त्रीले हिमाली जिल्लामा पनि निर्वाचन सञ्चालनमा कुनै समस्या नरहेको बताउनुभयो । दार्चुलालगायत हिमाली क्षेत्रमा अस्थायी बसोवास गरिरहेका नागरिकका लागि समेत मतदान केन्द्रको व्यवस्थापन गरिएको जानकारी उहाँले दिनुभयो ।
यसै क्रममा बाँकेको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै उहाँले यहाँको नेतृत्वले सम्भावित असामाजिक तत्त्वलाई समयमै पहिचान गरी नियन्त्रण गर्न सफल भएको उल्लेख गर्नुभयो । ‘जेनजी’ आन्दोलनका क्रममा भएका केही घटनाबारे विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेको समेत उहाँले जानकारी दिनुभयो । भ्रमण टोलीमा गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसमेत सहभागी हुनुहुन्थ्यो ।