ज्ञानु पङ्गेनी
मध्यविन्दु, फागुन १७ गते । नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा अहिले सर्भिस लेनको काम धमाधम चलिरहेको छ । आयोजनाले अहिले कावासोती क्षेत्रमा सर्भिस लेनको कामलाई तीव्रता दिएको छ ।
कावासोतीको दुवैतर्फ सर्भिस लेनको काम अन्तर्गत फिलिङ गर्ने र कालोपत्रे गर्ने कार्य चलिरहेको छ ।
गैंडाकोट नगरपालिकाबाट सुरु गरिएको सर्भिस लेनको काम देवचुली हुँदै अहिले कावासोतीमा केन्द्रित बनेको छ । सडक विस्तार अन्तर्गत यहाँ गैंडाकोट, देवचुली र कावासोतीको बस्ती क्षेत्रमा मात्रै सर्भिस लेनको काम हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार गैँडाकोटदेखि कावासोतीको केरुङे खोला पुलसम्म मात्रै सर्भिस लेनको काम हुने छ ।
आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोटदेखि कावासोतीको केरुङे खोला पुलसम्म दुवैतर्फ १७–१७ किलोमिटर गरी ३४ किलोमिटर सर्भिस लेन निर्माण गरिने छ। अहिले गैँडाकोट र कावासोती क्षेत्रमा कालोपत्रे भइरहेको छ भने अन्य क्षेत्रमा सर्भिस लेन सम्याउने र फिलिङ गर्ने काम चलिरहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।
कावासोतीको डण्डादेखि दुम्कीवाससम्म भने सर्भिस लेन निर्माण कार्य हुने छैन । यी क्षेत्रमा सर्भिस लेन निर्माण गर्ने भन्ने डिजाइनमै नभएको खनालले बताउनुभयो । यहाँका स्थानीयले पनि सर्भिस लेनको माग गरिरहेकाले अर्को चरणमा समावेश गर्न सकिने भए पनि अहिले भने डिजाइनमै नभएकाले काम नहुने खनालको भनाइ छ ।
चैत महिनाभित्रै सर्भिस लेनको काम सम्पन्न गर्ने गरी अहिले धमाधम काम भइरहेको उहाँको भनाइ छ ।