अमृतप्रसाद पौडेल
म्याग्दी,फागुन १७ गते । आम निर्वाचनको लागि म्याग्दीबाट उम्मेदवारी दिएका १२ मध्ये एक मात्रै स्वतन्त्र उम्मेदवार महावीर पुनको चुनाव प्रचारका लागि आज आइतबार बेनी बजारमा सरसफाइ गरिएको छ ।
एक भोट त्रिभुजलाई बाँकी सबै अरूलाई भन्ने नारा सहित निस्केको समूहले बेनी बजारको वीरेन्द्रचोक देखि शुरु गरेर बेनी बजार क्षेत्र सरसफाइ गरेको हो ।
चुनाव चिह्न अङ्कित ब्यानर तथा टोपी लगाएका टोली बजार क्षेत्र सरसफाइ गर्दै कुशासन, भ्रष्टाचार, भ्रमको खेती लगायतका विरुद्धमा महावीरलाई मतदान गर्नुपर्ने नारा लगाएका थिए ।
एउटा निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ गरी कुल ८६ हजार ३९७ मतदाता कायम छन् ।
निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल रहेको म्याग्दीमा दुई अस्थायी सहित १२२ मतदान केन्द्र कायम गरिएको छ ।
एक जना स्वतन्त्र उम्मेदवार सहित १२ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।