बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन १७ गते । सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरूलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी नियुक्ति पत्र दिएसँगै निर्वाचन सामग्रीहरू बुझाउन थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख ईश्वरनाथ मिश्रले आइतबारदेखि ५० प्रकारका निर्वाचन सामग्रीहरू मतदान अधिकृतलाई बुझाउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला निर्वाचन कार्यालयबाट ४९ प्रकारको निर्वाचन सामग्री बुझाइएको छ । मतपत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझाउने छ ।’ निर्वाचनमा खटिएका कर्मचारीलाई ५२ प्रकारको निर्वाचन सामग्री बुझाउनु पर्नेमा यो पटक झोला र रबरम्याट नआएको उहाँले सुनाउनुभयो ।
कार्यालयका अनुसार कर्मचारीले मतदाता नामवली, स्वस्तिक छाप, लाहा, मतपेटीका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटीका, मतपत्र, रबर म्याट, कपडा, कैची, मतदान निर्देशिका, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका निर्वाचन सामग्री बुझेका हुन् ।
उक्त सामग्री निर्वाचनमा खटिएका कर्मचारीहरुलाई सोमबारसम्म बुझाउने कार्यक्रम रहेको छ । जिल्ला सदरमुकामबाट मतदान स्थल टाढा रहेका पालिकाहरू फिक्कल, गोलन्जोर, सुनकोसी, हरिहरपुरगढी, दुधौली लगायतका स्थानमा खटिएका कर्मचारीलाई आइतबार र नजिककालाई सोमबार निर्वाचन सामग्री बुझाउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा उक्त निर्वाचन सम्पन्न गर्न कुल २७२ मतदान केन्द्रमा गरी एक हजार ६३२ कर्मचारी खटाइएको छ । निर्वाचनमा खटाइएका कर्मचारीले मतपेटिका, मतपत्र र निर्वाचन सामग्री सहित फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नु पर्ने मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन खटिएका कर्मचारीहरू निर्वाचन सामग्री बुझेर फागुन १८ गते बेलुकासम्म तोकिएको मतदान केन्द्रमा पुग्नुपर्ने हुन्छ ।’ सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको छ । दुई वटै निर्वाचन क्षेत्रमा गरी कुल १५१ मतदानस्थल र २७२ वटा मतदान केन्द्र रहेको छ ।
निर्वाचन क्षेत्र नं. १ मा ७७ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा भने ७४ वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्र रहेको छ । यो बाहेक जिल्ला सदरमुकाममा अस्थायी दुई वटा मतदान केन्द्र रहेको छ । कारागार कार्यालयमा एक र निर्वाचनमा नखटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरूका लागि जिल्ला हुलाक कार्यालयमा अर्को अस्थायी मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा उक्त प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या दुई लाख १५ हजार १९ जना रहेका छन् । दुई वटै निर्बाचन क्षेत्रमा गरी छ स्वतन्त्र सहित कुल २८ जना उमेद्वार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा रहेका छन् ।