• १७ फागुन २०८२, आइतबार

दश जातिको मातृभाषामा डा. हरि रोकाको चुनावी अपिल

blog

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोका

केदार मगर/रासस

खोटाङ, फागुन १७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिनुभएका अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. रोकाको पक्षमा जनमत जुटाउन चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार) र बान्तावा भाषामा अपिल प्रकाशन गरिएको हो । 

खस नेपाली भाषासहित ११ भाषामा डा. रोकाको चुनावी अपिल प्रकाशन गरिएको प्रचारप्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिनुभएको छ । 

उम्मेदवार डा. रोकाको पक्षमा चुनावी माहोल सिर्जना गर्नका लागि ‘हरि रोका जिताऔं’ स्वतन्त्र सहयोग समितिले विभिन्न दश मातृभाषामा निर्वाचन प्रचार सामग्री तयार पारेको हो । 

मातृभाषामा तयार पारिएको प्रचार सामग्रीलाई  अपिलको एकापट्टी मातृभाषामा र अर्कापट्टी खस नेपाली भाषामा डा। रोकालाई मत दिनुपर्ने कारण उल्लेख गरिएको छ । 

विभिन्न जातजातिका मतदातालाई उनीहरुकै भाषामा उम्मेदारको चुनावी एजेण्डाबारे जानकारी दिन भातृभाषामा अपिल तयार पारिएको निर्वाचन परिचालन मूल समितिका संयोजक एवम् पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष  टङ्क राईले बताउनुभएको छ । 

मातृभाषामा लेखिएको अपिलले विभिन्न मातृभाषाको लेख्य परम्परालाई प्रवद्र्धन गर्न सहयोग पुगेको पूर्वसांसदसमेत रहनुभएका संयोजक राईले जानकारी दिनुभएको छ ।

 ‘हारजित एक ठाउँमा छ तर, विभिन्न मातृभाषाको संरक्षणमा यसले रेकर्डको काम गर्छ,’ संयोजक राईले भन्नुभयो, ‘चाहेर पनि तिलुङ भाषाको अपिल बनाउन सकिएन । मातृभाषालाई बुझ्ने कोसिस हो यो । यसले मातृभाषामात्रै प्रयोग गर्ने मतदातालाई ठूलो सहयोग पुगेको छ ।’ 

मातृभाषामा तयार पारिएका घोषणापत्र नेकपा खोटाङका नेता तथा कार्यकर्ताले सम्बन्धित समुदायका मतदाता समक्ष बाँडिरहेको छ । डा।रोकाले आफ्नो चुनावीसभालाई जनसम्वाद कार्यक्रमका रुपमा अगाडि सारेर दशवटै स्थानीय तहका मतदातासँग प्रत्यक्ष सवालजवाफ गरिरहनुभएको छ ।

प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपाका उम्मेदवार डा। रोकासहित १५ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा उम्मेदवारहरु आफ्नो पक्षमा जित निकाल्न प्रयास रहेका छन् । आफ्ना पार्टीका उम्मेदवारलाई विजयी बनाउन जिल्लास्थित राजनीतिक दलहरु सक्रिय बन्न थालेपछि कार्यकर्ताहरु तानातानमा परेका छन् । तस्वीर उपलब्ध छ ।