मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), फागुन १७ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको दुई मतदान केन्द्रमा मतदान अधिकृतसहित शतप्रतिशत महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घरपझोङ गाउँपालिका–३, स्याङस्थित जनकल्याण आधारभूत विद्यालय मतदान केन्द्र र जिल्ला कारागारमा जोमसोममा एक अस्थायी मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । ५३१ मतदाता रहेको घरपझोङ–३, स्याङस्थित जनकल्याण आधारभूत मतदान केन्द्रमा जिल्ला न्यायाधिवक्ता सुशीला ज्ञवाली मतदान अधिकृत, सहायक मतदान अधिकृतमा प्रदेश अस्पतालका स्टाफ नर्स अतिजा शर्मा, सहायक कर्मचारीमा बन्दना घर्ती मगर, गरिमा ओली र उमादेवी राई रहनुभएको छ । त्यसै गरी जोमसोम कारागारको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत सहायक जिल्ला न्यायाधिवक्ता रन्जिता पोख्रेल, सहायक मतदान अधिकृत थासाङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक चित्रकुमारी थापा र सहयोगीमा रमिताकुमारी रोकायालाई खटाइएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३९ मतदान स्थल रहेको मुस्ताङमा एक मतदान अधिकृत जगेडामा राखिएको छ ।