प्रेम अधिकारी
पशुपतिनगर (इलाम), फागुन १७ गते । इलामको क्षेत्र नं. १ मा विगतका निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चुनावमा उठेपछि ठुलै तामझाम र होहल्ला हुने गथ्र्यो । यस पटक खनालले निर्वाचनमा उम्मेदवारी दिनु भएन । यस पटक इलाम–१ को माहोल फरक छ । न कुनै घरमा पार्टीको झन्डा देखिन्छ न कतै पर्चा पम्प्लेट टाँसेको देखिन्छ । न त चोकमा कुनै ठुला चुनावी सभा नै छन् । यस पटक १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । अधिकांश स्थानीय उम्मेदवार भएका कारण पार्टी–पार्टी र उम्मेदवार–उम्मेदवारबिचमा राम्रो सद्भाव कायम रहेको छ ।
चुनाव प्रचारप्रसारको अन्तिम समयमा आइपुग्दा पनि उम्मेदवार घरदैलोमै व्यस्त देखिएको छ । विगतका निर्वाचनमा केन्द्रका नेता ल्याएर भाषण सुनाउने परम्पार थियो । यस पटक त्यो परम्परा तोडिएको छ । उम्मेदवार जतिसक्दो छरितो समूह बनाएर घरदैलो कार्यव्रmममा व्यस्त देखिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँल बताउनुहुन्छ । निर्वाचन अधिकारी फुयाँल भन्नुहुन्छ, “अन्य जिल्लाको तुलनामा इलाम शान्त छ, उम्मेदवारले धेरै कुरामा मितव्ययिता अपनाएको देखिन्छ, यो राम्रो सङ्केत हो ।
सूर्योदय नगरपालिकामा दुई कार्यकाल सेवा गरेका प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट लागि उम्मेदवार बन्नुभएका रणबहादुर राई निर्वाचनलाई तडकभडकमय र खर्चिलो बनाउन नहुने बताउनुहुन्छ । उम्मेदवार राई भन्नुहुन्छ, “मतदाता धेरै बाठा भइसकेका छन्, अब भाषण सुनेर भोट हाल्दैनन्, विगतमा गरेको काम र सुशासन मतदाताले पक्कै हेर्छन् ।”
इलाममा यस पटक ठुला दल नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै ठुला चुनावी सभा छैनन् । केवल घरदैलो र साना कोणसभा मात्र छन् । नेपाली कांग्रेसका युवा उम्मेदवार निष्कल राई समयसँगै मत माग्ने तरिका बदलिएको बताउनुहुन्छ । राई आफू युवा भएका कारण पर्यटन, कृषि र युवाका एजेन्डा मतदातामाझ लिएर गएको बताउनुहुन्छ ।
धेरै उम्मेदवारले बढी मात्रामा सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ । धेरै जसो पार्टीका उम्मेदवारले जिल्लाका विभिन्न पर्यटकीय स्थलको भिडियो तयार गरी आगामी दिनमा गर्नुपर्ने कामसहित पर्यटन क्षेत्रको प्रचार गरिरहेको पाइएको छ ।
अन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरे उम्मेदवारले पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नु राम्रो भएको बताउनुहुन्छ । “यस पटक इलाम निर्वाचन क्षेत्र नं. १ का ओझेलमा परेका पर्यटकीय स्थलको समेत धेरै उम्मेदवारले प्रचारप्रसार गर्नुभएको छ, प्रचारप्रसारसँगै ती ठाउँमा समस्या र सम्भावनासमेत उजागर भएका छन् ।”
इलाम क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार काजीमान कागते विगतको निर्वाचनभन्दा यस पटक आफँैले फरक महसुस गरेको बताउनुहुन्छ । विगतमा तामझामका साथ सबै दलको प्रचारप्रसार हुने गरेकोमा यस पटक घरदैलोमै सबैको समय बितेको बताउनुहुन्छ । उहाँले विकास, पूर्वाधार र पर्यटनका कुरा राखेर भिडियो प्रचार गरेको देखिन्छ । “एकअर्कालाई गाली गरेर अहिलेको समयमा भोट पाइँदैन, मतदाताको मन जितेको हुनै पर्दछ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल आफ्ना एजेन्डासँगै पर्यटकीय स्थलको प्रचारसँगै मत मागिरहनुभएको छ । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामान्य चुनावी सभा गरे पनि अन्य दलले ठुला चुनावी सभा राखेका छैनन् ।
एक लाख १२ हजार ३२० मतदाता सङ्ख्या रहेको इलाम क्षेत्र नं. १ मा यस पटक नेपाली कांग्रेस र नेकपा (एमाले) लाई नयाँ शक्तिका रूपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले मत काट्ने भएपछि दबाबमा पारेको देखिन्छ ।