• १७ फागुन २०८२, आइतबार

किसानलाई सिँचाइको चिन्ता

blog

पानी माग्दै सुनसरीको इनरुवामा आन्दोलन तथा प्रदर्शन गर्दै किसान ।तस्बिर : जयकृष्ण यादव

इनरुवा समाचारदाता   

इनरुवा, फागुन १७ गते  । देशभर चुनावी माहोलले छोएको भए पनि सुनसरीका किसानलाई चुनावमा मतदानभन्दा बढी मकै, गहुँ र तरकारी बालीमा सिँचाइ गर्न नपाएकोमा चिन्ताले सताएको छ । 

चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवारले घरदैलो तीव्र पारेका छन् । जिल्ला सदरमुकाम इनरुवा दक्षिण क्षेत्रका किसान भने नहरमा पानीको पर्खाइमा बसेका छन् । देशकै ठुलो आयोजनामध्येको एक सुनसरी मोरङ सिँचाइ आयोजना रहेको सुनसरीका किसान यतिबेला नहरमा पानी नभएर सिँचाइ नभएर हैरान छन् । 

जिल्ला सदरमुकाम इनरुवा–६ का मकै किसान देवनारायण यादवले आफ्नो र अधियाँका गरी सात बिघामा मकै खेती गर्नुभएको छ । उहाँले मकैको महँगो बिउ, खाद्यमल, विषादी र खेत तयारीमै मात्र करिब तीन लाख ५० हजार रुपियाँ लगानी मकै खेतीमा गर्नुभएको छ । उहाँको खेतमा नहर, कुलो पैनी पनि नभएको होइन तर समयमा नहरमा पानी नछाडेकाले लाखाँै लगानी गरेको मकै बाली सुक्न लागेकाले चिन्तामा डुब्नुभएको छ । यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा भएको पानी बुढीखोलाको भाइरल पार्कमा बेचेकाले शङ्करपुर शाखा नहरमा तीन हप्तादेखि पानी नआएकाले मकै सुक्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो । अर्का किसान श्याम यादवले कोशी नदीमा पश्चिमतर्फ पानी बगेकाले कम पानी आएको र आएको पानी पनि पार्कका लागि पठाउँदा सुनसरीका किसान मारमा परेको दुःखेसो पोख्नुभयो । मकै खेती गरेको भए पनि अहिले सिँचाइ अभावले मकैको बोट नै सुक्ने अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ । 

इनरुवा नगरपालिका–६, मधेशाका माधव भण्डारीले आफ्नो खेतमा मकै र गहुँ बाली लगाउनुभएकोमा नहर भएर पनि पानी नआएकाले सिँचाइ अभाव भएको गुनासो गर्नुभएको छ । नहरमा पानी नहुँदा बाली नै सुक्ने अवस्थामा रहेको भण्डारीको भनाइ छ । यस क्षेत्रमा नहरको पानीको आसमा मकै तथा गहुँ बाली लगाएक हजाराँै किसान सिँचाइको समस्या हुने गरेको छ । देशकै ठुलो नदी सप्तकोशी सुनसरीमै भए पनि नहरमा पानी पर्याप्त मात्रामा नआएकाले किसानलाई समस्या भएको स्थानीय किसानले बताएका छन् । 

शङ्करपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि मकै बालीमा सिँचाइ गर्न समस्या भएको किसान सदानन्द यादवले बताउनुभयो । सुनसरीमा १८ हजार हेक्टर क्षेत्रफलमा गहुँ र १२ हजार हेक्टरमा मकै बाली लगाइएकोमा धेरै किसानलाई समस्या भएको यादव बताउनुहुन्छ । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरसँग समन्वय गरेर फागुन १८ गतेपछि नहरमा पानी ल्याउने कुरा भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रतिक्रिया दिनुभयो ।