• १७ फागुन २०८२, आइतबार

नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १७ गते । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वी क्षेत्रमा विकसित भएका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

दूतावासबाट जारी विज्ञप्तिमा भनिएको छ, “युएई सरकार तथा नेपाली दूतावास/महावाणिज्य दूतावासले सुरक्षा मार्गनिर्देशन र सूचनाको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको छ ।” विज्ञप्तिमा मध्यपूर्वको सृजित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहनसमेत आग्रह गरेको छ । 

दूतावासले विशेष गरी अनावश्यक आवागमन कम गर्न, भिडभाड भएका स्थानबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचना मात्रै विश्वास गर्न आग्रह गरेको छ । दूतावासका अनुसार आपत्कालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । दूतावासले आपत्कालीन अवस्थामा सम्पर्क गर्नका लागि दूतावासको वेब साइटमा राखिएको फोन नम्बर र इमेल ठेगानामार्फत जानकारी गराउनसमेत आग्रह गरेको छ ।