• १७ फागुन २०८२, आइतबार

गहुँको नयाँ छ जात विकास

blog

बुटवल समाचारदाता

बुटवल, फागुन १७ गते । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लग–२०२० जातको नयाँ गहुँको बिउ विकास गरेको छ । त्यसै गरी पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगङ्गा र हिमगङ्गाको जात विकास गरेको कार्यक्रमले जनाएको छ । 

खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्ला छ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरेको कार्यक्रमको दाबी छ । हाल थप चार जातको गहुँको बिउ सिफारिसको चरणमा रहेका छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएको समेत कार्यक्रमले जनाएको छ । 

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका संयोजक डा. रोशन बस्नेतले गहुँका यी जातमा जिङ्क र आइरनको मात्रा बढी पाइने तथा रोग, किरा र जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता उच्च रहेकाले किसानले उत्पादन बढी लिन सक्ने बताउनुभयो । उहाँले नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिने बताउनुभयो । 

उहाँले उन्नत जात प्रभावकारी रूपमा किसानसम्म पु¥याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्थापन गर्न सके देश गहुँमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने अवस्थासम्म पुग्न सक्ने बताउनुभयो । कार्यक्रमले रुपन्देहीका गहुँ किसानलक्षित गर्दै एक हप्तासम्म सैद्धान्तिक र प्रयोगात्मक विधिबाट उन्नत गहुँ खेती प्रविधिसम्बन्धी तालिम दिएको छ । 

तालिममा २५ जना गहुँ खेती गर्ने कृषकको सहभागिता थियो । तालिममा सहभागी अधिकांश कृषकलाई नयाँ विकास गरिएका गहुँका जातबारेसमेत थाहा नभएको कृषकले बताएका छन् ।  रुपन्देहीको मर्चवारका गहुँ खेती गर्ने कृषक अजयकुमार यादवलाई आफूले कुन गहुँ छरेको भन्ने पनि थाहा नभएको बताउँदै तालिममा उपयुक्त जात छनोट कसरी गर्ने, बिउ उपचार, समयमै रोपाइँ र लाइनमा छर्ने विधिको विषयमा सिक्न पाउँदा अब उत्पादन बढाउन सकिने विश्वास लागेको जनाउनुभयो । 

कृषक यादवले माटो परीक्षण गरेर सन्तुलित मलखाद कसरी प्रयोग गर्ने, सिँचाइ व्यवस्थापन, रोग र किरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र भण्डारण जस्ता कुरा तालिममा सिक्न पाएको बताउनुभयो । रुपन्देहीका गहुँ किसानमध्ये धेरैले अहिले पनि भारतबाटै गहुँको बिउ ल्याउने गरेका छन् तर नेपालमै विकास गरिएको उन्नत गहँुको बिउबाट धेरै उत्पादन लिन सकिने संयोजक डा. बस्नेतले बताउनुभयो । 

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान रामभरोस कुर्मीले अहिलेसम्म परम्परागत तरिकाले गहुँ खेती गर्दै आएको बताउनुभयो । तालिम पाएपछि अब उन्नत तरिकाले गहुँ खेती गर्दा उत्पादनमा वृद्धि हुने आशा व्यक्त गर्नुभयो । 

किसानलाई गहुँ उत्पादनमा प्रोत्साहित गर्ने उद्देश्यका साथ राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले एकहप्ते तालिम आयोजना गरेको हो ।  तालिममा कृषकले उन्नत जातको प्रमाणित बिउ छनोट गर्ने विधि, छर्ने तरिका, सन्तुलित मलखाद व्यवस्थापन, समयमै सिँचाइ, रोग तथा किरा व्यवस्थापनबारे प्राविधिक ज्ञान पाएका छन् ।