रामकृष्ण बोहरा
बागलुङ, फागुन १४ गते । चैते दशैंको अवसरमा बागलुङ कालीका मन्दिर परिसरमा विविध कार्यक्रमसहित मेला आयोजना गरिने भएको छ ।
कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा हुने मेला चैत १० देखि १४ गतेसम्म चल्ने छ । चैते दशै मेलामा राष्ट्रिय लोकदोहोरी गीत, कालिका कप पुरुष तथा महिला भलिबल र छेलो प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम आयोजना गरिएको गुठी व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको छेलो प्रतियोगिताको विजेतालाई नगद ३० हजार रुपियाँ प्रदान गरिनेछ । लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, द्वितीय हुनेले १ लाख र तृतीय हुने ५० हजार रुपियाँ प्राप्त गर्ने छन् । सर्वाेत्कृष्ट गायनतर्फ ५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
कालिका कप खुल्ला पुरुष भलिबलमा विजेता टोलीले ३ लाख, उपविजेताले १ लाख ५० हजार, सेमीफाइनल पुग्ने टोलीले ५० र सर्वाेत्कृष्ट खेलाडिलाई ५ हजार रुपियाँ प्रदान गरिने गुठीका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।
यस्तै, महिला भलिबलको विजेताले १ लाख, उपविजेताले ५० हजार, सेमीफाइनल पुग्ने टोलीले १० हजार र सर्वाेत्कृष्ट खेलाडिले ५ हजार रुपियाँ प्राप्त गर्ने छन् ।
सयौं वर्षदेखि मेला लाग्दैआएको कालीकामा गुठीले व्यवस्थापन गर्दैआएको छ । मेला सम्पन्न गर्न ५५ लाख रुपियाँ खर्च हुने गुठीले जनाएको छ । मेलाको लागि कालिका भगवती गुठीले २० लाख, सह–आयोजक तथा प्रायोजक संस्थाबाट ८ लाख, रमाइलो मेलाबाट १३ लाख, आर्थिक सहयोगबाट ९ लाख र मेला स्टलबाट ३ लाख रुपियाँ संकलन हुने गुठीका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
‘देशभरबाट कालिका भगवतीको दर्शन गर्न भक्तजन आउने भएकाले गुठीले व्यवस्थापनमा साथ दिने हो, मेला स्वतः लाग्ने गर्छ’ अध्यक्ष खड्काले भन्नुभयो ।
मेलालाई आकर्षक बनाउन खेलकुद र साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको उहाँको भनाइ छ । चैते दशै मेलामा आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको समेत व्यवस्थापन गर्दैआएको छ ।
देशभरबाट मेलाको अवलोकन तथा कालिका भगवतीको पूजाका लागि भक्तजन आउने भएकाले मेलालाई विशेष पर्वको रुपमा लिने गरिन्छ । चैते दशैको प्रतिपदादेखि रामनवमीसम्म लाखौं भक्तजन तथा आन्तरिक पर्यटक मन्दिर आउने गर्छन् । चैते दशैमा २० लाखले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।
स्थानीयस्तरमा उत्पादित ठेक्का, डाला र नाङ्ला किन्न पाइने भएकोले मेलामा सयौं आउने गर्छन् । बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा, अमलाचौरका किसानले निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री बिक्रीका लागि मेलामा ल्याउने गर्छन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्तीअनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ ।