• १३ असार २०८१, बिहिबार

कोरिया भाषा परीक्षा

कृषितर्फ करिब तीन हजार उत्तीर्ण

blog

काठमाडौँ, साउन ३ गते । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको दोस्रो चरणको नतिजा सार्वजानिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणका लागि गत असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा सहभागीमध्ये एक हजार १०३ जना उत्तीर्ण भएका हुन् । दोस्रो चरणका लागि चार हजार २५८ जनाले आवेदन दिएकामा परीक्षामा तीन हजार १३ जना सहभागी भएका थिए । 

दक्षिण कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ जना श्रमिकको माग आएकोमा पहिलो चरणमा एक हजार ८०९ जना उत्तीर्ण भएका थिए । पहिलो चरणको परीक्षा जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको उक्त परीक्षामा छ हजार १०६ जना सहभागी भएका थिए ।

उक्त परीक्षाका लागि जम्मा छ हजार ५९७ जनाले आवेदन दिएकोमा छ हजार १०६ जना परीक्षामा सहभागी भएका थिए । कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा भएको परीक्षामा दुई हजार ९१२ जना उत्तीर्ण भएका छन् भने दुई हजार ७४१ जनाको माग रहेको छ ।

ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने सुनिश्चित नहुने बताउनुभयो । कोरिया मानव संसाधन विभाग (एचआरडी)ले भिसा र रोजगार अनुमतिपत्र पठाएपछि मात्र जान पाउने सुनिश्चित हुन्छ । कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा उत्तीर्ण भएकाहरूको कोरिया जानका लागि छनोट भएकाको प्रक्रिया सुरु भएको छ । 

उत्पादनतर्फको पहिलो चरणको परीक्षा 

ईपीएसअन्तर्गत दक्षिण कोरिया जान लिइने उत्पादनतर्फको पहिलो चरणको भाषा परीक्षा सोमबारदेखि सुरु भएको छ । सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि पहिलो चरणको परीक्षण साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ ।  

ईपीएस शाखाका अनुसार उत्पादनतर्फको पहिलो चरणको परीक्षाका लागि १५ हजार ३८३ जनाले आवेदन दिएका छन् । यस्तै उत्पादनतर्फको दोस्रो चरणको परीक्षा आउँदो भदौ २० गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार दोस्रो चरणको परीक्षाका लागि १८ हजार ९९५ जनाले आवेदन दिएका छन् ।