इमान सिं राना
रामपुर (पाल्पा), फागुन १४ गते । ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै दिवसको अवसरमा भोलि बिदा दिएको हो ।
मथागढी गाउँपालिकाले आइतबार, निस्दी, पूर्वखोला, बगनासकाली र तिनाउ गाउँपालिकाले सोमबार, रामपुर नगरपालिका, तानसेन नगरपालिका र रम्भा गाउँपालिकाले मङ्गलबार, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले बुधबार सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिएको जनाएको छ ।
स्थानीय तहहरूले पालिकाका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जानकारी दिएको छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर पालिका, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदैछ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा कुल २ लाख ४५ हजार २७ जनसङ्ख्या मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर जाति रहेका छन् ।