गंगा कुमारी मिजार
रसुवा, फागुन १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभर ३४८ कर्मचारी खटाइने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको सङ्ख्याका आधारमा कर्मचारी व्यवस्थापन गरिएको हो । कर्मचारी व्यवस्थापन समितिका सं गयोजक तथा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सबै मतदान स्थलमा आवश्यक जनशक्ति सुनिक्षित गरिएको जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार जिल्लामा २१ हजार १४१ महिला सहित कुल ४१ हजार ४७१ मतदाता रहेका छन् । उनीहरुका लागि ३६ मतदान स्थलमा ५७ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि ५९ मतदान अधिकृत, १७१ सहायक कर्मचारी तथा ५९ कार्यालय सहयोगी खटाइने व्यवस्था गरिएको छ । प्रत्येक मतदान केन्द्र रहेकोमा यसपटक मतदाता वृद्धि भएसँगै केन्दको सङ्ख्या बढाइएको हो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी १४ केन्द्र सामान्य, ३८ संवेदनशील र पाँच अतिसंवेदनशील निर्धारण गरिएको छ ।
निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन मतदान स्थलमा सिसी क्यामेरा जडान कार्य भइरहेको छ । उत्तरगया गाउँपालिकामा जडान सम्पन्र भइसकेको र अन्य स्थानमा छिट्टै सम्पन्र गरिने जनाइएको छ । त्यस्तै, निर्वाचन अधिकारी रायले अस्थायी मतदाता नामावाली तयारी, कर्मचारी तालिम तथा मतदान सामग्री व्यवस्थापनको काम सम्पन्र भएको जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिकासहित आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ ।
मतदाता शिक्षा कार्यक्रमअन्तर्गत २७ वडामा स्वयंसेवक परिचालन गरिएको छ भने पाचँवटै गाउँपालिकामा अनुगमनको व्यवस्था गरिएको छ । निर्वाचन स्वस्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्र गर्न आवश्यक सबै तयारी पुरा भएको कार्यालयले जनाएको छ ।