रामकृष्ण बोहरा
बागलुङ, फागुन १४ गते । बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विगतको चुनावी परिणामअनुसार पश्चिम बागलुङमा पर्ने यस क्षेत्रमा कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिए पनि पछिल्लो समय रास्वपा थपिएको हो ।
यस क्षेत्रमा कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चा (राजमो) र नेकपाका साझा उम्मेदवार ज्ञामनाथ गैरे तथा रास्वपाका सोम शर्मा चुनावी मैदानमा हुनुहुन्छ । २०७९ सालको निर्वाचन परिणामलाई विश्लेषण गर्दा रास्वपाको जनआधार अन्य दलको तुलनामा कमजोर देखिए पनि फेरिएको राजनीतिक समीकरणले प्रतिस्पर्धालाई तीव्र बनाएको छ ।
२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेल २४ हजार ७९४ मतका साथ विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १९३ मत प्राप्त गर्दा रास्वपाकी तिला खत्रीले २ हजार ३२७ मत पाउनुभएको थियो ।
विगतका दुई निर्वाचनमा चुनावी गठबन्धनका कारण मतदाताले आफ्नै दलको उम्मेदवारलाई मतदान गर्न पाएका थिएनन् । यस पटक राजमोबाहेक अन्य प्रमुख दलले एकल उम्मेदवारी दिएकाले चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । नेकपा (एस) सहितका साना कम्युनिस्ट घटकबीचको एकताबाट बनेको 'नेकपा' का तर्फबाट ज्ञामनाथ गैरेले बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ । उहाँलाई पश्चिम बागलुङमा राम्रो प्रभाव भएको राजमोको समर्थन छ ।
एमालेले पुनः मञ्जु शर्मा चालिसेलाई नै उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट उम्मेदवारी दिने उहाँ एक्लो महिला हुनुहुन्छ । २०७९ मा ४ हजार ६०१ मतान्तरले पराजित चालिसे यस पटक अघिल्लो मत जोगाउँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा हुनुहुन्छ ।
यता, सांगठनिक रूपमा कांग्रेसको जनआधार पनि बलियो देखिन्छ । यस क्षेत्रका ६ स्थानीय तहमध्ये ४ वटामा कांग्रेसको नेतृत्व छ । २०७९ को समानुपातिकतर्फको मत परिणाममा कांग्रेसले १६ हजार २८३ र एमालेले १५ हजार ४६८ मत प्राप्त गरेका थिए ।