• १४ फागुन २०८२, बिहिबार

चुनावी एजेन्डा : ज्योतिनगर पहिरो नियन्त्रण

blog

बुटवल समाचारदाता

बुटवल, फागुन १४ गते । यही फागुन २१ गते हुने निर्वाचनमा बुटवलको ज्योतिनगर पहिरो नियन्त्रण सबै उम्मेदवारको प्रतिबद्धतामा परेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ज्योतिगर पहिरो नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । एमालेबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलको प्रतिबद्धतापत्रमा ज्योतिनगर पहिरो नियन्त्रणको कुरा प्राथमिकतामा परेको छ । 

उहाँले ज्योतिनगरको पहिरो नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता गर्नुभएको छ । त्यसै गरी नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले आफ्नो प्रतिबद्धता प्राथमिकताको सूचीमा सोही विषय राखेर प्रचारप्रसार गरिरहनुभएको छ । स्थानीय बासिन्दाले विशेष गरी वर्षायाममा पहिरोको जोखिम, अव्यवस्थित बस्ती, सुकुमवासी व्यवस्थापन, सडक र ढल निकासका समस्या समाधानका लागि पहल गर्न उम्मेदवारसमक्ष माग राख्ने गरेका छन् । स्थानीयले यस्ता माग राखेपछि उम्मेदवार पौडेलले मतदातासँग भन्नुभयो, “हामी चुनाव जित्न मात्र होइन, दीर्घकालीन समाधानका लागि आएका हौँ । ज्योतिनगरको पहिरो नियन्त्रण, सुरक्षित बस्ती निर्माण गर्छौं ।” 

राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका सुलभ खरेल र सुवास पाण्डेको चुनावी प्रतिबद्धतामा पनि ज्योतिनगरको पहिरोको कुरा उल्लेख छ । दुवै उम्मेदवारले ज्योतिनगरको पहिरो नियन्त्रण गर्न स्थानीय बासिन्दाको साथ र सहकार्यमा काम गर्ने उल्लेख गर्नुभएको छ । बुटवलका लागि ज्योतिनगर पहिरो विगत २६ वर्षदेखि अभिशाप बन्दै आएको छ । २०५५ साल भदौ २० गते बुटवलको ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिलो पटक पहिरो गएको थियो । 

चार वर्षअघि २०७८ सालमा पनि सोही ठाउँमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको थियो । त्यसयताको करिब २६ वर्षदेखि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका स्थानीयले धेरै पटक पहिरोकै कारण विस्थापनको पीडा भोग्दै आएका छन् । 

सङ्घीय सरकारले पहिरो प्रभावित मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा करिब तीन करोड रुपियाँ बजेट विनियोजन गरी पहिरो नियन्त्रणका लागि काम गरेको थियो । पहिरो प्रभावितले ज्योतिनगर पहिरो नियन्त्रणका लागि दीर्घकालीन रूपमा काम गर्न उम्मेदवारको ध्यानाकर्षण गराउँदै आएका छन् ।