• १४ फागुन २०८२, बिहिबार

बिरामीलाई लक्षित औषधी परामर्श कक्ष सञ्चालन

blog

सन्तोष दहित
दाङ, फागुन १४ गते ।
अब बिरामीहरूले औषधीसम्बन्धी जानकारी लिन सहज हुने भएको छ । फार्मेसीबाट प्राप्त हुने जुनसुकै औषधीबारे बिरामीमा हुने ज्ञानको अभावका कारण अलमल नहोस् भन्ने उद्देश्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधी परामर्श कक्ष सञ्चालनमा ल्याएको छ ।

बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले जिल्लामै पहिलोपटक यस्तो नविन अभ्यास सुरु गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले बताउनुभयो । यस कक्षमार्फत बिरामीहरूले आफूले सेवन गर्न लागेको औषधी, त्यसको मात्रा, प्रभाव तथा सावधानीबारे आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् ।

औषधी परामर्श कक्षको उद्घाटन प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले गर्नुभएको हो । उहाँका अनुसार चिकित्सकले लेखेको प्रेस्क्रिप्सन नबुझेका बिरामीहरूले गलत औषधी सेवन नगरोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो । बिरामीलाई औषधीबारे स्पष्ट जानकारी प्रदान गर्नका लागि सो कक्षमा विज्ञ फार्मासिस्ट (औषधि परामर्शदाता) नियुक्त गरिने प्रतिष्ठानले जनाएको छ ।