• १४ फागुन २०८२, बिहिबार

मतपत्रमा बाँचेको लोकतन्त्र

blog

लोकतन्त्रको सबैभन्दा ठुलो उपलब्धि भनेको सत्ताका लागि हुने द्वन्द्वलाई हिंसाबाट मतपत्रमा रूपान्तरण गर्नु हो । मतदान शान्तिपूर्ण सत्ता हस्तान्तरणको आधार हो । जब नागरिक सक्रिय रूपमा मतदानमा सहभागी हुन्छन्, त्यसले बल प्रयोग निरुत्सहित गर्दै केवल बहस र मतको माध्यमबाट निर्णय गर्ने संस्कृतिलाई बल दिन्छ । मतदातमा सहभागिता घट्दा निराशा बढ्छ, र निराशाले चरमपन्थी र अलोकतान्त्रिक विकल्पलाई ठाउँ दिन्छ । मतदानलाई केवल राजनीतिक प्रव्रिmयाका रूपमा मात्र लिनु हुँदैन, यो सामाजिक स्थिरता र शान्तिको आधार पनि हो । लोकतन्त्र दर्शक भएर हेर्ने व्यवस्था होइन, यसले नागरिकबाट उपस्थिति, विवेक र जिम्मेवारीको अपेक्षा गरेको हुन्छ । मतपत्र सानो कागज जस्तो देखिन सक्छ तर यही कागजमा लोकतन्त्रको भविष्य लेखिन्छ । केवल संविधानले मात्र लोकतन्त्र टिक्दैन । स्वच्छ, निष्पक्ष र सहभागी निर्वाचनमार्फत सार्वभौम नागरिकले आफ्नो मताधिकार प्रयोग गरेमा मात्र लोकतन्त्र सुदृढ हुन्छ । मतदान अधिकार हो तर त्यसभन्दा पनि ठुलो कुरा यो नागरिक कर्तव्य हो । आजको मतदानले भोलिको शासन तय गर्छ । हामीले लोकतन्त्र जोगाउन यसका सारभूत मान्यता र मूल्य जगेर्ना गर्र्नु पर्छ । प्रत्येक सचेत नागरिकले मतदानलाई गम्भीर जिम्मेवारीका रूपमा लिनु अपरिहार्य छ ।

लोकतन्त्र जोगाउने दायित्व

लोकतन्त्र केवल संविधानले मात्र टिक्दैन । संविधानले शासन प्रणालीको ढाँचा दिन्छ तर त्यसमा प्राण फुक्ने काम नागरिकको सक्रिय सहभागिताले मात्र गर्छ । स्वच्छ र धाँधलीरहित निर्वाचनमार्फत पाँच वर्षका लागि आफ्ना उपयुक्त प्रतिनिधि संसद्मा पठाउने नागरिक अभ्यासकै आधारमा लोकतन्त्र बाँच्छ र ओइलाउँछ । यसको अर्थ स्पष्ट छ कि, सार्वभौम नागरिकले शासनसत्ताको बागडोर समाल्नका लागि उपयुक्त प्रतिनिधि छनोट गर्छन् । निर्वाचनमा गरिने मतदानबाट मात्रै लोकतन्त्रको भविष्य सुनिश्चित गर्न सकिन्छ । लोकतन्त्र कुनै कागजी अवधारणा होइन; यो नागरिकको दैनिक व्यवहार, चेतना र जिम्मेवारीमा निर्भर हुने विकसित राजनीतिक प्रणाली हो । आज विश्वका धेरै मुलुकमा लोकतान्त्रिक संस्था कमजोर बन्दै गइरहेका छन् । 

मतदान, अधिकार र कर्तव्य 

आमबुझाइमा मतदानलाई मतदाताको अधिकारका रूपमा मात्र बुझिएको छ । मताधिकार नागरिकको मौलिक अधिकार हो । यो अधिकार मात्र नभएर मतदाताले उपयुक्त प्रतिनिधि छनोट गरी सङ्घीय संसद्मा पठाउने दायित्व र नागरिक कर्तव्य पनि हो । अधिकार प्रयोग नगर्दा अधिकार स्वयम् कमजोर हुन्छ । नागरिक अधिकार र प्रतिनिधित्व सुनिश्चितताका लागि लडेका विगतका पुस्ताले ठुलो मूल्य चुकाएका छन् । उनीहरूको सङ्घर्षकै कारण आज हामीले मताधिकार प्रयोग गर्न पाएका छौँ । त्यसै गरी आज निर्वाचित हुने प्रतिनिधिका राजनीतिक निर्णयको परिणाम भोग्ने भावी पुस्ताको हितका लागि पनि निर्वाचनमा उपयुक्त प्रतिनिधिलाई नेतृत्वमा पु¥याउनु नागरिक दायित्व हो । मतदान नगर्नु केवल व्यक्तिगत निष्क्रियता होइन, यो अघिल्ला र भावी दुवै पुस्ताप्रतिको उत्तरदायित्वबाट विमुख हुनु पनि हो ।

सहभागितामा आधारित लोकतन्त्र

लोकतन्त्र सहभागितामा आधारित प्रणाली हो । चुनाव निश्चित अन्तरालमा मात्र सञ्चालन हुने हुनाले निर्वाचनमार्फत राजनीतिक दलका प्रतिबद्धता र शासकीय निर्णयलाई सार्वजनिक सहमतिका रूपमा नवीकरण गरिन्छ । जब नागरिक टाढा बस्छन्, यो सहमति विकृत हुन्छ । त्यस्तो अवस्थामा सरकारहरूले वैधताको दाबी गर्न पनि सक्छन् तर जनसङ्ख्याको ठुलो हिस्सा मौन रहँदा त्यो वैधता कमजोर हुन्छ । जनइच्छाको वास्तविक प्रतिनिधित्वका लागि पनि निर्वाचन नै उपयुक्त माध्यम हो । निर्वाचनमा मतदाताको मतदानप्रतिको उदासीनताको मूल्य समाजले दीर्घकालीन रूपमा तिर्नु पर्छ । कम मतदान प्रतिशतले निर्वाचित सरकारलाई सीमित जनसमर्थनमा आधारित बनाउँछ । यस्तो अवस्थामा नीति निर्माण जनताको व्यापक आवश्यकताभन्दा पनि सीमित समूहको हितमा केन्द्रित हुने सम्भावना बढ्छ । परिणामस्वरूप असमानता गहिरिन्छ, राज्यप्रति अविश्वास बढ्छ र लोकतान्त्रिक संस्थाप्रतिको आस्था कमजोर बन्छ । 

आज विश्वभर मतदाताको उदासीनता र गलत जानकारीले हाम्रो लोकतान्त्रिक प्रणालीमा गम्भीर बाधा पु¥याइरहेको छ । तथ्यभन्दा भ्रम, नीतिभन्दा प्रचार र विवेकभन्दा भावनाले मतदानलाई निर्देशित गर्न थालेको छ । यस्तो अवस्थामा सचेत र जिम्मेवार मतदान लोकतन्त्र जोगाउने पहिलो सर्त बन्छ । शासकलाई जवाफदेही बनाउने सबैभन्दा सशक्त माध्यम नै निर्वाचन हो । नेताहरूले गरेका वाचा, अपनाएका नीति र प्रदर्शन गरेका आचरणको मूल्याङ्कन मतपत्रमार्फत हुन्छ । जब नागरिकले मतदान गर्दैनन् तव जवाफदेहिता कमजोर हुन्छ । नागरिक मौन रही बसेमा र समाजमा रहेका विकृति र विसङ्गतिप्रति नागरिकले प्रश्न नउठाएमा र समग्रमा मतदाताको मौनताले राजनीतिक दलका नेतृत्वमा गलत कार्य गर्न मनोबल बढ्छ, जसले भ्रष्टाचार, दुरुपयोग र सत्ताको मनपरीतन्त्रलाई मलजल गर्छ । मतदान गरेर नागरिकले दिने स्पष्ट सन्देश भनेकै हामी हेरिरहेका छौँ, मूल्याङ्कन गरिरहेका छौँ र आवश्यक परे परिवर्तन गर्न तयार छौँ भन्ने नै हो ।

नागरिक कर्तव्य र जवाफदेहिता

मतदानलाई धेरै जसो व्यक्तिगत सुविधा, क्षणिक असन्तुष्टि वा निजी स्वार्थबाट निर्देशित एक व्यक्तिगत छनोटका रूपमा व्याख्या गरिन्छ । यस्तो दृष्टिकोणले मतदानको नैतिक महत्वलाई कम आकलन गर्छ । मतदानमार्फत नागरिकले साझा नियम स्वीकार गर्ने, शक्तिका लागि शान्तिपूर्ण प्रतिस्पर्धालाई वैधता दिने र शासनको स्रोत जनता नै हुन् भन्ने लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्छन् । प्रतिनिधित्वको माग गर्दै आवाज उठाएका श्रमिक वर्ग, राजनीतिक बहिष्करणको प्रतिरोध गरेका महिला र संरचनागत भेदभावको सामना गरेका सीमान्तकृत समुदायको सङ्घर्षले आजको मताधिकार सम्भव बनाएको हो । मतदानलाई हल्का रूपमा लिनु भनेको ती ऐतिहासिक बलिदानको अवमूल्यन गर्नु हो । मतदानमा मतदाताको कम सहभागिताले चुनावपछि नकारात्मक परिणाम निम्त्याउन सक्छ । जब मतदानमा मानिसले कम मात्र मतदान गर्छन्, तब समग्र जनसङ्ख्याको कम मात्र प्रतिनिधित्व हुन्छ । स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत गरिने मतदान प्राथमिक उपकरण हुन्, जसको माध्यमबाट नागरिकले दल र नेताहरूलाई जवाफदेही बनाउँछन् । निर्वाचन अभियानका समयमा गरिएका वाचाका आधारमा मतदाताले समेत अन्ततः मतपेटिकामा न्यायको सामना गर्नु पर्छ । जब मतदाता यस्तो क्रियाकलापबाट अलग हुन्छन् तव जवाफदेहिताको संयन्त्र कमजोर हुन्छ । 

निर्वाचनमा नागरिकले कम मात्र मतदान गर्छन् भन्ने थाहा पाएको नेतृत्वले समावेशी शासन गर्न उत्साहित हुँदैनन्, फलस्वरूप भ्रष्टाचार, अक्षमता र शक्तिको दुरुपयोग बढ्न सक्छ । मतदान गर्नु भनेको विजेता छनोट गर्नुसँग मात्र सम्बन्धित नरही यसले शासनको मापदण्ड लागु गर्ने विषयमा समेत गम्भीर बनाउँछ । सामान्यतया मतदातामा एउटा मतले निर्वाचन परिणाम परिवर्तन गर्न सक्दैन भन्ने बुझाइ पनि छ । कम मतदानले शंका, ध्रुवीकरण र प्रतिस्पर्धालाई निम्तो दिन्छ । राजनीतिक संस्कृति र प्राथमिकतालाई आकार दिने मुख्य विषय नै मतदान हो । निर्वाचनका क्रममा हुने उच्च मतदानले सरकार र यसका नीतिहरूमा बलियो वैधता प्रदान गर्छ । प्रत्येक मतले सरकार सञ्चालन गर्ने सामूहिक जनादेशमा योगदान पु¥याउँछ । यस तरिकाले, मतको मूल्य केवल अङ्कगणितीय प्रभावमा मात्र नभई लोकतान्त्रिक मान्यताहरूको योगदानमा पनि निहित हुन्छ ।

शान्तिपूर्ण राजनीतिको रक्षाकवच 

मतदान केन्द्रमा उपस्थित भएर मात्र नागरिकको मतदान गर्ने दायित्व समाप्त हुँदैन । लोकतान्त्रिक जिम्मेवारीमा सूचित छनोट गर्नु पनि महìवपूर्ण हुन्छ । सूचित मतदानले तमासा वा डरको सट्टा विचार, क्षमता र निष्ठालाई पुरस्कृत गरेर लोकतन्त्र बलियोसमेत बनाउँछ । कुनै पनि मतदातालाई पूर्ण रूपमा सूचित गर्न सकिँदैन तर मुख्य मुद्दा, प्लेटफर्म र उम्मेदवारलाई बुझ्ने प्रयासले लोकतान्त्रिक प्रक्रियाको गम्भीरताप्रति सम्मान झल्काउँछ । सूचित मतदाताले भरिएको लोकतन्त्र अफवाह र आक्रोशले प्रेरित लोकतन्त्रभन्दा धेरै लचिलो हुन्छ । लोकतन्त्रको सबैभन्दा ठुलो उपलब्धि भनेको हिंसालाई मतपत्रले प्रतिस्थापन गर्नु हो । चुनावले शक्ति र नीतिमाथिको द्वन्द्व समाधान गर्ने शान्तिपूर्ण माध्यम प्रदान गर्छ । जब नागरिकले व्यापक रूपमा भाग लिन्छन्, तिनीहरूले यस शान्तिपूर्ण संयन्त्रमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्छन् । जब सहभागिता घट्छ, निराशा बढ्छ, अतिरिक्त–लोकतान्त्रिक विधिको आकर्षण बढ्छ, सडक हिंसा, जबरजस्ती र बलियो शासन । त्यसैले मतदान गर्नु भनेको प्रभुत्वमाथि संवादमा विश्वासको कार्य हो । यसले असहमतिहरू बल प्रयोग गरेर होइन, संस्थामार्फत समाधान गर्नु पर्छ भन्ने विचारलाई बलियो बनाउँछ । 

जातीय, धर्म, विचारधारा, वा वर्गको विविधताले चिनिएका समाजमा, सामाजिक एकताको लागि यो प्रतिबद्धता अपरिहार्य छ । नागरिकले राजनीतिप्रति मोह भङ्ग गर्छन् भन्ने निर्विवाद छ । समाजमा अर्थपूर्ण परिवर्तन प्रायः मतदान, नागरिकको बलियो सङ्गठन, वकालत र निरीक्षणको दिगो संलग्नताबाट आउँछ । लोकतन्त्रले विरोध, असहमति र वैकल्पिक राजनीतिक आन्दोलनका लागि ठाउँ दिन्छ । स्वतन्त्र, निष्पक्ष र पहुँचयोग्य चुनाव सुनिश्चित गर्ने जिम्मेवारी राज्यको भए पनि नागरिकले विश्वासका आधारमा निर्वाचनमा भाग लिनु पारस्परिक दायित्व हुन्छ । यो साझा जिम्मेवारीले लोकतान्त्रिक प्रणालीलाई कायम राख्छ । जब नागरिक निर्वाचनबाट अलग हुन खोज्छन्, प्रणाली कमजोर हुन्छ । त्यसकारण निर्वाचनमा मतदाता सहभागितालाई प्रोत्साहन गर्नु आवश्यक हुन्छ । यो सामूहिक हितको रक्षासमेत गर्छ । 

लोकतन्त्र मतपत्रमा बाँच्छ

लोकतन्त्र दर्शकको खेल होइन । यसले उपस्थिति, ध्यान र कार्यको माग गर्छ । मतदान गर्नु एकान्तमा एक सामान्य कार्य हो तर सँगै, लाखौँ यस्ता कार्य वैध शासनको मेरुदण्ड बनाउँछन् । मतदान गर्नु भनेको समानता, जवाफदेहिता र शान्तिपूर्ण परिवर्तनको पुष्टि गर्नु हो । बाध्यकारी कारण बिना टाढा रहनु भनेको सार्वजनिक जीवनलाई आकार दिने निर्णयमा प्रभाव त्याग्नु हो । मतदान लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि आवश्यक हुन्छ । यो नागरिकको साझा दायित्व हो, यसबाट भाग्नु भनेको अराजकतालाई प्रोत्साहन गर्नु हो । लोकत्रन्त्र सधैँ मतपत्रमा बाँचेको हुन्छ, जसले सम्पूर्ण व्यवस्थाको जगेर्ना गर्छ ।