काठमाडौँ, फागुन १३ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात्र मतदान गरिनुपर्ने बताउनुभएको छ ।
उहाँले देश विकासका १० दृष्टिकोणसहितका एजेन्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको उल्लेख गर्नुभयो । महामन्त्री पौडेलले विषयवस्तुलाई स्पष्टसँग बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको चर्चा गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुरु गरिएको 'चुपचाप मतदान' को विषयतर्फ सङ्केत गर्दै महामन्त्री पौडेलले भन्नुभयो, “लोकतन्त्रमा कुनै पनि विषयमा प्रस्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ ।”
नेपाली कांग्रेस देशको अबको मार्गचित्रबारे प्रस्ट रहेको बताउँदै उहाँले देश निर्माणका भिजनबारे बहस गर्न आफूहरू खुला रहेको र यसमा गर्व गर्ने उल्लेख गर्नुभयो ।
महामन्त्री पौडेलले भन्नुभयाे, “चुपचाप होइन फागुन २१ गते गर्वका साथ रुखमा छाप लगाऔँ ।”

मतदातामाझ घरदैलोमा सक्रिय
नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिनु भएको छ । बुढानीलकण्ठ नगरपालिका–६, खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले पौडेललाई भेटेर शुभकामना दिनुभएको हो ।
महामन्त्री पौडेल हाल काठमाडौँ ५ का विभिन्न क्षेत्रमा मतदातामाझ घरदैलोमा सक्रिय हुनुहुन्छ । यस क्रममा बुधबार उहाँले बुढानीलकण्ठ नगरपालिकाका भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यु कोलोनी र गणेश चोक लगायतका स्थानमा घरदैलो गर्नुभएको उल्लेख गर्नुभयो ।
यसैगरी, बुढानीलकण्ठ–४ का शिव मन्दिर, सुनाखरी टोल र चपली कार्की गाउँलगायतका ठाउँमा पनि उहाँले घरदैलो गर्नुभएको थियो ।
उम्मेदवार पौडेलले विगतमा इमानदारीका साथ क्षेत्र र राष्ट्रिय मुद्दाहरूमा सक्रियतापूर्वक काम गरेको स्मरण गराउनुभयो । उहाँले अलपत्र रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार तथा विस्तार र विष्णुमती काेरिडोरलगायतका काम क्षेत्रमा अघि बढेको चर्चा गर्नुभयो ।
सांसद तथा मन्त्रीका रूपमा स्वास्थ्य सुधारमा काम गरेको बताउँदै आगामी दिनमा पनि क्षेत्रको विकासका मुद्दाका साथै देशलाई समृद्धितर्फ लैजान इमानदारीका साथ लागि पर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।