भुवन कार्की
रूपन्देही, फागुन १३ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रूपन्देही क्षेत्र २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ सँग रूपन्देहीको सैनामैनावासीले सुकम्वासी समस्या समाधान गर्न आग्रह गरेका छन् ।
दशकौंसम्म यहाँका बासिन्दाले जग्गाको लालपुर्जा नपाएपछि स्थानीयले प्रायः सबै पार्टीका उम्मेदवारलाई याचना गर्नेगरेका छन् । सुकुम्वासी बस्तीका बासिन्दाको मुख्य गुनासो छ– “अघिपछि गाउँघरमा नेताहरू आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर दिनदिनै भोट माग्न आउँछन् ।”
रूपन्देही–२ का उम्मेदवार विश्वदीपसँग सुकुम्वासीहरूले समस्या समाधानको माग गरेका हुन् । स्थानीय बासिन्दालाई सम्बोधन विश्वदीपले भन्नुभयो, ‘मेरो घर पनि सैनामैना वनकट्टामै पर्छ । म स्वयं पनि लालपुर्जाविहीन नागरिक हुँ । आफ्नो घरको लालपुर्जा नहुँदाको पीडा मैले नजिकबाट भोगेको छु ।’
सैनामैना नगरपालिकाका जनप्रतिनिधि भुवनबहादुर क्षेत्रीका अनुसार यस पालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोवासी रहेका छन् । तीमध्ये वडा १ का एकसय ७३ वटा लालपूर्जा मात्र हालसम्म बाँडिएको छ । यस वडामा मात्र झण्डै ४ हजार पाँच सयले राजस्व बुझाउने गर्दछन् । अधिकांश वडामा नापजाँच भएको छैन ।
अर्का स्थानीय वीरबहादुर थापाले पनि सुुकुम्वासी समाधानका लागि कसैले पनि विषेश पहल अहिलेसम्म नगरेको गुनासो गर्नुभयो । यस निर्वाचन क्षेत्र २ मा सैनामैनाका वडा १, २, ३ र ४ मात्रै पर्छन् ।
बुटवलको वडा ११ मा सबैभन्दा धेरै अव्यवस्थित र सुकुम्वासी बस्ती छन् । त्यहाँ रहेका झण्डै १९ हजार मतदातामध्ये ५० प्रतिशत अव्यवस्थित बसोवासी छन् । त्यस्तै वडा १, २, १८ र १९ पनि सुकुम्वासी धेरै भएका वडा हुन् ।
त्यसबाहेक तिलोत्तमाको वडा नं १, २, ३, ४, ५, र ६ वडा पनि यहीं क्षेत्रमा पर्छन् । तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासी समस्या विद्यमान छ । वडा नं ३, ४ र ६ मा लालपुर्जा नपाएको बसोवासी बढी छन् भने अन्य वडामा पनि पूर्जाबिहीन वासिन्दा छन् ।
तिलोत्तमामा पनि अव्यवस्थित र सुकुम्वासीको समस्या अन्यत्रजस्तै समान छ । एक लाख ३५ हजार ५० मतदाता रहेको यस क्षेत्र सबैभन्दा बढी सुकुम्वासी र अव्यवस्थित बसोवासी रहेको क्षेत्र हो ।