• १३ फागुन २०८२, बुधबार

टी–२० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

blog

शतक प्रहार गरेपछि इङ्ल्यान्डका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, फागुन १३ गते । इङ्ल्यान्ड आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्कास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले हरायो । 

यससँगै इङ्ल्यान्ड जारी विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको छ । सुपर आठमा लगातार दोस्रो जित निकालेको इङ्ल्यान्ड समूह दुईमा चार अङ्क जोड्दै शीर्षस्थानमा छ । 

न्युजिल्यान्ड र पाकिस्तानले एक एक अङ्क बनाएको छ । श्रीलङ्काले अङ्कको खाता खोल्न सकेको छैन । समूह चरणमा इङ्ल्यान्डले नेपाल रहेको समूह ‘सी’ बाट प्रतिस्पर्धा गरेको थियो । 

टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । पाकिस्तानका लागि साहिबजादा फरहानले सर्वाधिक ६३ रन बनाउनुभयो । 

बाबर आजम‌ र फकर जमानले समान २५, २५ र शादब खानले २३ रन बनाउनुभयो । बलिङमा इङ्ल्यान्डका लियाम डसनले तीन विकेट लिनुभयो । यस्तै जेमी ओभरटन र जोफ्रा आर्चरले दुई दुई तथा आदिल रसिदले एक विकेट लिनुभयो । 

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५१ बलमा १० चौका र चार छक्कासहित एक सय रन बनाउनुभयो ।

यस्तै विल ज्याक्सले २८ र साम करनले १६ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले चार तथा मोहम्मद नवाज र उसमान तारिकले दुई दुई विकेट लिनुभयो ।