दमक, फागुन १३ गते।फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
केन्द्रीय सुरक्षा समितिले यस क्षेत्रलाई अति संवेदनशील सूचीमा राख्दै सुरक्षाकर्मीको सङ्ख्यामा उल्लेख्य वृद्धि गरेको जनाईएको छ ।
’हेभिवेट’ उम्मेदवारका कारण सुरक्षा चुनौती
यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह, नेपाली काँग्रेसकी महिला नेतृ मन्धरा पौड्याल, नेकपाका केन्द्रिय सदस्य रञ्जित तामाङ, राप्रपाका लक्ष्मी सङ्ग्रौला, श्रम संस्कृति पार्टीका समिर तामाङ लगायतका उम्मेद्वार रहनु भएको छ ।
चर्चित नेताहरूको उम्मेदवारीले गर्दा कार्यकर्ता र समर्थकबीच हुनसक्ने सम्भावित झडप र विवाद रोक्न प्रहरीले विशेष रणनीति अपनाउँदै विशेष सुरक्षा योजना अघि सारेको बताईएको छ ।
ओली र शाहको घरदैलो ताथ कार्यकर्ता भेटघाटलाई प्रहरीले कडा सुरक्षा दिदैँ आएको छ ।
प्रत्येक पालिकामा प्रहरी नायब उपरीक्षकको कमाण्ड
यो निर्वाचन क्षेत्रमा इलाका प्रहरी कार्यालय दमकमा प्रहरी नायब उपरीक्षकको दरबन्दी रहेको छ । अहिले निर्वाचन लक्षित गरी प्रत्येक पालिकामा एकएक जना प्रहरी नायब उपरीक्षक खटाइएको जनाईएको छ ।
दमक, कमल, गौरादह र गौरीगन्ज पालिका क्षेत्र नं. ५ मा पर्दछ । इलाका प्रहरी कार्यालय गौरादह र गौरीगञ्जमा रहेको छ ।
गौरीगञ्जमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ । अब निर्वाचन अवधिमा गौरीगन्ज, गौरादह र कमल गाउँपालिकालाई हेर्ने गरी प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीहरू खटिएको सुरक्षा श्रोतको भनाई छ ।
दमकमा बाहेक ४ जना प्रहरी नायब उपरीक्षक थपिएको श्रोतको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा सुरक्षाकर्मीको सङ्ख्या साबिकभन्दा तेब्बर बढेको छ ।
झापा क्षेत्र नं.५ मा प्रहरीको सङ्ख्या धेरै नै बढाइएको उहाँले जानकारी दिनु भयो । उहाँले आवश्यकता अनुसार पाँच जना वा जति जना पर्छ खटाइने जानकारी दिनु भयो । आवश्यकता अनुसार हामीले जनशक्ति थपिरहेका छौ र अझै पनि थप आवश्यकता परे थप्छौ, उहाँले भन्नुभयो ।