सिराज खान
नेपालगन्ज, फागुन १३ गते ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटरको सीमाना तीन दिन पूर्ण रुपमा बन्द गरिने भएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि नेपाल भारत जमुनाहा नाका लगायत जिल्लाका सबै सहायक नाकाहरू समेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
हालै नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकमा भएको सहमति अनुसार फागुन १८ गते राती १२ बजेदेखि फागुन २१ गते राती १२ सम्मकोलाई नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिनुभयो ।
उहाँले निर्वाचन सुरक्षाका लागि नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्नो भूमिबाट सिमानालाई पूर्ण रुपमा बन्द गर्ने सहमति भएको बताउनुभयो ।
तोकिएको अवधिभर कुनै पनि सबारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवतजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
उता, जिल्ला प्रहरी कार्यालय बाँकेले पनि निर्वाचनको समयमा तीन दिन सिमा नाका बन्द हुने जनाउँदै सो समयमा जबर्जस्ती घुसपैठ गर्न खोज्ने जोसुकैलाई कानुन अनुसार कारबाही गरिने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जमुनाहस्थित मुख्य नाका लगायत सबै सहायक नाकाहरूमा सुरक्षाकर्मीको सङ्ख्या थपेर फागुन १८ गतेदेखि २१ गते रातीसम्म निरन्तर सुरक्षा गस्तीका साथै नेपाल भारतका सुरक्षाकर्मीको पनि संयुक्त गस्ती गराइने बताउनुभयो ।
भारतसँग सीमा नाका जोडिएको बाँके जिल्लाका अधिकांश मतदानस्थललाई अति संवेदनशिल मानिएकोले सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको र जनशक्ति समेत बढाइएको बाँकेका प्रहरी प्रमुख जिसीले बताउनुभयो ।
सीमा नाकाको सुरक्षालाई प्रभावकारी बनाउन नाकामा रहेका दुबै देशका सुरक्षा अधिकारीहरूसँग छलफल र भेटघाट समेत निरन्तर भैरहेको बाँके प्रशासनले जनाएको छ ।