पुरुषोत्तम सुवेदी
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), फागुन १३ गते । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (ब.सु.प.) ले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न बर्दघाट नगरपालिकालाई कडा निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी र चौधरी फाउन्डेसनको संलग्नतामा हुन लागेको कार्यक्रम रोक्न निर्देशन दिएको हो।
प्रशासनका अनुसार नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरी र चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा बर्दघाट नगरपालिकाले 'औद्योगिक ग्राम' कार्यक्रम आयोजना गर्न लागेको जानकारी प्राप्त भएको थियो ।
प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई प्रभावित पार्ने उद्देश्यले यस्तो योजना अघि सारिएको भन्दै प्रशासनमा उजुरी र गुनासो प्राप्त भएको पत्रमा उल्लेख गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा आगामी निर्वाचनमा उम्मेदवार रहेका कुनै पनि दल वा व्यक्तिसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन नगर्न र नगराउन नगरपालिकालाई निर्देशन दिइएको व्यहोरा बताउनुभयो ।
'निर्वाचन आचारसंहिता, २०८२' को मर्म विपरीतका कुनै पनि कार्य नगर्न र नगराउन कडाइका साथ निर्देशन दिइएको बारे उहाँले चर्चा गर्नुभयो । उक्त कार्यक्रमको प्रकृति र निर्वाचन आचारसंहिताको अवस्थाबारे जानकारी गराउन समेत प्रशासनले नगरपालिकालाई पत्रमार्फत सचेत गराएको सहायक प्रजिअ भण्डारीले भन्नुभयो ।
निर्वाचनको मुखमा ठूला उद्योगी तथा उम्मेदवारको फाउन्डेसनमार्फत हुने यस्ता आर्थिक सहयोग र कार्यक्रमहरूले मतदाताको स्वतन्त्र निर्णयलाई प्रभावित पार्न सक्ने भन्दै निर्वाचन आचारसंहिता अनुगमन समितिले सक्रियता देखाएको विषयमा उहाँले उल्लेख गर्नुभयो ।