• १३ फागुन २०८२, बुधबार

टर्कीमा लडाकू जेट दुर्घटनामा पाइलटको मृत्यु

blog

इस्तानबुल, फागुन १३ गते । टर्कीमा लडाकू जेट विमान (एफ-१६) बुधबार उडान भरेको केही समय पछि दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको मिडियाले रक्षा मन्त्रालयलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।

बालिकेसिरबाट उडान भरेको विमानको साथ रेडियो र ट्र्याकिंग जानकारी प्रस्थानको लगत्तै हराएको मन्त्रालयले जनाएको छ । “खोजी र उद्धार अभियानमार्फत भग्नावशेष फेला पारी पाइलटले ज्यान गुमाएको उल्लेख गर्दै दुर्घटनाको कारण दुर्घटना परीक्षण टोलीले अनुसन्धान गरेपछि निर्धारण हुने छ”, मन्त्रालयले जनाएको छ ।

यस अघि गत नोभेम्बरमा, अजरबैजानबाट फर्कने क्रममा छिमेकी जर्जियामा एउटा दुर्घटना भएपछि टर्कीले सी-१३० कार्गो विमानको उडान स्थगित गरेको थियो, जसमा सवार सबै २० जनाको मृत्यु भएको थियो । अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित एफ-१६ विमान पछिल्लो समय दुर्घटनाग्रस्त भएका छन् ।

जनवरीमा ताइवानको एफ-१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । पोल्यान्डमा अगस्टमा एयर सोको रिहर्सल गर्दा एफ-१६ दुर्घटनाग्रस्त हुँदा पनि पाइलटको मृत्यु भएको जनाइएको छ । रासस/एएफपी