• १३ फागुन २०८२, बुधबार

मतदान अधिकृतहरूलाई तालिम

blog

मतदान केन्द्रमा खटिनु हुने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रशिक्षण दिइँदै । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन १३ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा मकवानपुरमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा खटिन छनोट हुनुभएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि मङ्गलबारदेखि मकवानपुर बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको हो । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि निर्वाचन प्रशिक्षण तालिम आयोजना गरिएको हो । फागुन १४ गतेसम्म तालिम कार्यक्रम हुने छ । पहिलो दिन फागुन १२ गते मकवानपुरको कैलाश, राक्सिराङ, बागमती, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकामा खटिनुहुने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 

फागुन १३ गते मनहरी, बकैया, मकवानपुर गढी र भिमफेदी गाउँपालिकामा खटिने कर्मचारीका लागि प्रशिक्षण कार्यक्रम भइरहेको छ । फागुन १४ गते हेटौँडा उपमहानगरपालिकाभित्र खटिने कर्मचारीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । 

जिल्लाको दस वटै स्थानीय तहमा खटिने ७६८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको हो । पहिलो दिन पाँच वटा स्थानीय तहमा खटिने २६६ जना, दोस्रो दिन २३४ जना र तेस्रो दिन २६८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत, सुरक्षा समितिका पदाधिकारी र स्रोत व्यक्तिले तालिममा प्रशिक्षण प्रदान गरिरहनुभएको छ । 

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार जिल्लाको १७६ मतदान स्थलमा रहेका छन् । ३७४ मतदान केन्द्रमा ३७४ जना मतदान अधिकृत र ३७४ सहायक मतदान अधिकृत खटिनु हुने छ । निर्वाचनका लागि १६ जना जगेडा कर्मचारी पनि राखिएको छ । यसैगरी एक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक कर्मचारीसहित छ जनाका दरले दुई हजार २४४ जना र प्रतिमतदान केन्द्र औसतमा तीन जना स्वयंसेवकसहित एक हजार १२२ जना कर्मचारी खटिने भएको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । 

निर्वाचनका लागि जिल्लामा तीन हजार ३६६ कर्मचारी खटिने भएका छन् । नियुक्ती भएर निर्वाचन तालिम पश्चात फागुन १८ गतेभित्र निर्वाचन सामाग्रीसहित मतदान स्थल जाने कर्मचारीलाई पठाइने छ ।