गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । सरकारले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षाव्यवस्था थप कसिलो र प्रभावकारी बनाउने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा मङ्गलबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षाव्यवस्थालाई प्रभावकारी बनाउन चार वटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो ।
बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्ने गरी कार्य गर्न निर्देशन दिनुभयो । बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थिति थियो । यसै गरी गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सञ्चार क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, प्रवक्तासहित उच्च अधिकारी र नेपाल दूरसञ्चार प्राधिकरण, सेवाप्रदायकहरूबिच निर्वाचनलाई लक्षित गरेर दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउने समझदारी भएको हो ।
निर्वाचनका समयमा विशेष गरी मतदान केन्द्रहरूमा सञ्चारको पहुँच पु¥याउन, भइरहेको सेवालाई थप प्रभावकारी बनाउन, सेवाको मर्मत र अनुगमनलाई चुस्त र दुरुस्त राख्ने निर्णय भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवाप्रदायकबाट सेवालाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरूबिच छलफल भई कार्यान्वयन गरिएको छ । गृहमन्त्री अर्यालले निर्वाचनका सन्दर्भमा दूरसञ्चार सेवालाई थप सहज, भरपर्दो र प्रभावकारी बनाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।