• ११ फागुन २०८२, सोमबार

महामन्त्री पौडेलको प्रतिज्ञा : काठमाडौँ–५ लाई ‘डिजिटल इनोभेसन हब’ बनाउने

blog

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेल

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन ११ गते । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि १४ बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्नुभएको छ ।

सुशासन, सहकार्य र समुन्नतिको नारासहित उहाँले सामाजिक सञ्जालमार्फत काठमाडौँ–५ को चौतर्फी विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

पौडेलले वि.सं. २०७९ को निर्वाचनमा विजयी भएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सांसदका रूपमा इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गर्नुभएको छ । उहाँको प्रतिज्ञापत्रमा चक्रपथ दोस्रो खण्ड विस्तारको निरन्तरता, सामाखुसी–टोखा सडक, विष्णुमती काेरिडोर र साङ्ले खोला काेरिडोर जस्ता रणनीतिक योजनालाई तीव्रता दिने विषय समेटिएका छन् ।

 यस्तै, मेलम्चीको खानेपानी चक्रपथ बाहिर विस्तार गर्ने योजनालाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ ।

शिक्षा र स्वास्थ्यमा डिजिटल रूपान्तरण

पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कुल’ बनाउने र स्थानीय मातृभाषा (नेवारी तथा तामाङ) एवं मौलिक सीपलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ । 

स्वास्थ्यतर्फ सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउँदै यसलाई योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाउने उहाँको योजना छ । उहाँले काठमाडौँ–५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्दै त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र कान्ति बाल अस्पतालको क्षमता विस्तार गर्ने बताउनुभएको छ ।

डिजिटल इनोभेसन र पूर्वाधार

युवा जनशक्तिलाई विश्व बजारसँग प्रतिस्पर्धा गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल मार्केटिङको तालिम सञ्चालन गरी यस क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’ बनाउने पौडेलको दाबी छ । उहाँले सङ्घीय संसदमार्फत व्यवसायमैत्री कानुन निर्माण गर्ने र झन्झटिलो व्यवसाय दर्ता प्रक्रिया अन्त्य गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्पदा संरक्षण र पर्यटन

हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, धुम्बाराही र अजिमा जस्ता ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्ने उहाँको योजना छ । टोखाको बिस्का नखः र हाँडीगाउँको चोकते नारायण जात्रा जस्ता सांस्कृतिक परम्पराको ‘ब्रान्डिङ’ गरी पर्यटकीय लाभ लिने लक्ष्य प्रतिज्ञापत्रमा राखिएको छ ।

सहरी व्यवस्थापन र यातायात

टुकुचा, धोबी खोला र सामाखुसी खोलाको ढल व्यवस्थापनका लागि ‘स्टोर्म वाटर ड्रेनेज’ को व्यवस्था गर्ने र सार्वजनिक पार्कहरूको निर्माण गर्ने पौडेलले उल्लेख गर्नुभएको छ । उपत्यकाको यातायातलाई व्यवस्थित गर्न ‘मास ट्रान्सपोर्टेसन’ र साझा डिजिटल भुक्तानी प्रणाली लागु गर्न पहल गर्ने उहाँको भनाइ छ ।

यस्तै, टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’ का रूपमा विकास गर्ने, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्ने र धनेश्वर खेल मैदानलाई राष्ट्रियस्तरको बनाउने विषय पनि प्रतिज्ञापत्रमा समेटिएका छन् । सार्वजनिक जग्गाको संरक्षण गरी पार्क र ध्यान केन्द्र बनाउने कार्यलाई पनि उहाँले जोड दिनुभएको छ ।