कोकिला ढकाल
इलाम, फागुन ११ गते । मेची राजमार्गको इलामको फिक्कल–कन्याम सडक खण्ड अन्तर्गत कन्याम नजिक पाल्टागेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको प्र. १–०१–०१८ प. १५२० नम्बरको मोटरसाइकलमा सवार झापा बिर्तामोड–५ का ५० वर्षीय मनोज चौधरीको मृत्यु भएका हो ।
सो मोटरसाइकल चालक तिङ्कु साहुले ब्रेक लगाउने क्रममा पछाडि सवार चौधरी मोटरसाइकलबाट लड्दा इलामबाट झापा तर्फ जाँदै गरेको मे. १ ख. १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउँकोमा किचेको थियो । दिउँसो साढे ११ बजेतिर भएको दुर्घटनामा चौधरीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
घटनापछि मोटरसाइकल चालक तिङ्कु साहुलाई उपचारका लागि फिक्कल अस्पताल पुर्याइएकाे छ । ट्रक चालक जिल्ला पाँचथर हिलिहाङ गाउँ पालिका–७ का ३० वर्षीय हरिनारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुशपतिनगर लगेको बताइएको छ ।