• ११ फागुन २०८२, सोमबार

बाँकेमा निर्वाचन सुरक्षाका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन

blog

निर्वाचन सुरक्षाका लागि बाँकेमा सुरक्षा गस्ती गर्दै प्रहरी टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा पाँच हजार भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । जिल्ला सुरक्षा समिति बाँकेले दिएको जानकारी अनुसार बाँके जिल्ला भारतसँग सीमाना जोडिएको हुँदा अतिनै संवेदनशील जिल्ला मानिएकोले यहाँको निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाइएको छ । 

जिल्ला सुरक्षा समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लाका १३९ मतदान स्थलको सुरक्षाका लागि नेपाली सेनासहित पाँच हजार ५५३ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

उहाँले निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरीका एक हजार ५००, सशस्त्र प्रहरीका एक हजार, नेपाली सेनाका ५५३ तथा दुई हजार ५०० जना निर्वाचन प्रहरी खटाइएको जानकारी दिनुभयो ।

परिचालन गरिएको सुरक्षाकर्मीको संयुक्त टोली वा छुट्टा छुट्टै टोलीले विभिन्न स्थानमा निर्वाचन सुरक्षा लक्षित गस्ती र सुचना सङ्कलनसँगै स्थानीयसँग भेटघाट गर्ने कार्य समेत सुरु गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । 

सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अङ्गुर जिसीले निर्वाचनका लागि जिल्लामा आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन तथा समन्वय कार्य पूरा भइसकेको बताउनुभयो । उहाँले खुला सिमानासँग जोडिएको जिल्ला भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय सुरक्षा अधिकारीहरूसँग बैठक गरेर निर्वाचनमा समन्वय र सहकार्य गर्ने निर्णय समेत गरिसकिएको बताउनुभयो । 

उता, जिल्ला निर्वाचन कार्यालय बाँकेले निर्वाचनका तयारीहरू अन्तिम चरणमा पुगेको जनाउँदै व्यवस्थापनका कामहरू तिव्र गतिमा भइरहेको जनाएको छ । सो कार्यालयका प्रमुख टेकबहादुर शाहीले सोही क्रममा अहिले निर्वाचनमा खटिने ८०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिने कार्य भइरहेको बताउनुभयो ।