इस्लामाबाद (पाकिस्तान), फागुन ११ गते । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ । आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उदृत गर्दै जनाएको छ ।
पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा पाकिस्तानले पनि यस क्षेत्रमा धेरै आक्रमण गरेको जनाइएको छ । लक्षित स्थानमा नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस यार रहेको जनाइएको छ । यस अघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतङ्ककारीलाई नि-सस्त्र बनाएको बताउनु भएको थियो ।
प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान, यसका सम्बद्ध र इस्लामिक स्टेट-खोरासन प्रान्त (दाइश-खोरासन)का लागि पाकिस्तानी अधिकारीले प्रयोग गर्ने शब्द फितना अल–खवारीजसँग सम्बन्धित शिविरलाई लक्षित गरी आक्रमण गरिएको सरकारले जनाएको छ । जियो न्यूज कार्यक्रम “जियो पाकिस्तान”सँग कुरा गर्दै चौधरीले अफगानिस्तान सीमापार आतङ्कवादको स्रोत बनेको आरोप लगाउनु भएको छ ।
उहाँले पाकिस्तानले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक उपाय अपनाइ रहेको र करिब ७० हजार गुप्तचर-आधारित अपरेसन घरेलु रूपमा सञ्चालन गरिएको उल्लेख गर्नु भएको छ जसको परिणाम स्वरूप धेरैलाई पक्राउ गरिएको थियो । पाकिस्तानको सूचना र प्रसारण मन्त्रालयले आक्रमणलाई “सटीक र सही” भन्दै इस्लामाबाद, बाजौर र बन्नुमा हालैका आत्मघाती बम विस्फोटको प्रतिशोधात्मक प्रतिक्रिया भनेको छ । इस्लामावादले अफगानिस्तानको मिले-मत्तोमा आधारित आक्रमण आयोजना गरिएको र टिटिपी र दाइश तत्वसँग जोडिएको दाबी गरेको छ ।
उक्त आक्रमणले पक्तिका प्रान्तको बरमल क्षेत्र, नङ्गरहार प्रान्तको खोग्यानी जिल्ला, साथै घानी खेल, बेहसुद र अर्गुन क्षेत्रका लुकेका ठाउँलाई लक्षित गरेको बताइएको छ । चौधरीले सन् २०२० को दोहा सम्झौताको उल्लेख गर्दै अफगान तालिबानले अफगानिस्तानको भूमि आतङ्कवादका लागि प्रयोग गर्न नदिने वाचा गरेको बताउनु भएको छ । उहाँले काबुलको अन्तरिम प्रशासन आतङ्कवादी गतिविधि रोक्न असफल भएको आरोप समेत लगाउनु भएको छ ।
पाकिस्तानले आफ्नो सुरक्षा चिन्तालाई सम्बोधन गर्न कूटनीतिक र सैन्य स्तरका प्रयास गरेको र राजनीतिक दललाई आतङ्कवाद विरुद्ध एकजुट हुन आग्रह गरेको उहाँले बताउनुभयो । पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा हिंसामा वृद्धि भएपछि पछिल्लो आक्रमण भएको जनाइएको छ । विशेष गरी २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किए पछि हालैका वर्षमा इस्लामाबाद र काबुलबिच तनाव बढेको जनाइएको छ ।
सन् २०२५ अक्टोबर मा, पाकिस्तानी सेना र अफगान तालिबान लडाकु बिचको सीमा झडपका कारण दुवै पक्षको ठुलो क्षति भएको बताइएको छ । चरणवद्ध वार्ताका बावजुद, दुवै देशले स्थायी शान्ति हासिल गर्न संघर्ष गरेका छन् । यसैबिच, काबुलले यस अघि आतङ्कवादी समूह अफगान क्षेत्रबाट सञ्चालन गर्ने इस्लामाबादको आरोपलाई अस्वीकार गर्दै पाकिस्तानको सुरक्षा चुनौति आन्तरिक विषय भएको बताएको छ । रासस/एएनआई