प्रवीणकुमार शर्मा
रौतहट, फागुन ११ गते । रौतहटको गौर नगरपालिका–६, सबगढामा मस्जिद अगाडि बाजा बजाउँदै जन्ती गएको विषयलाई लिएर गत बिहीबार रातिदेखि उत्पन्न तनाव सोमबार बिहानदेखि सामान्य बन्दै गएको छ।
तनावपछि नागरिक समाजको अगुवाइमा सोमबार शान्ति तथा सद्भाव र्याली निकालिएको छ। र्यालीमा हिन्दु–मुस्लिम समुदायका अगुवा, स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
नेकपा (एमाले) रौतहटका जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले र्यालीले आपसी भाइचारा र सद्भाव कायम राख्ने सन्देश दिएको बताउनुभयो। सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले गाउँ परिक्रमा गर्दै शान्ति र एकताको सन्देश दिएको उहाँको भनाइ छ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केशरीले अब कुनै पनि प्रकारको उक्साहटमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गर्नुभयो। उहाँले यस र्यालीले गौरमा पुनः विश्वास र भाइचाराको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको बताउनुभयो।
केशरीको अगुवाइमा आयोजित र्यालीमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नारायण दल गणका कर्णेल विश्वास विष्ट, प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, विभिन्न राजनीतिक दलका नेता, दुवै समुदायका अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।