अमरराज नहर्की
तनहुँ, फागुन ११ गते । गण्डकी प्रदेशको गौरवको रूपमा रहेको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा पछिल्लो समय बिरामीहरूको आकर्षण ह्वात्तै बढेको छ । आयुर्वेदिक पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि यहाँ सेवा लिन आउनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चिकित्सालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा मात्रै १६ हजार ६ सय ३१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
कार्यालय प्रमुख एवम् आयुर्वेद चिकित्सक डा. नारायण श्रेष्ठले विशेषगरी ग्यास्ट्रिक, बाथरोग, नसारोग र छालाजन्य समस्या भएका बिरामीहरूको सङ्ख्या बढी हुने गरेको बताउनुभयो । प्राकृतिक र जडीबुटीजन्य उपचार पद्धतिप्रति सर्वसाधारणको विश्वास बढ्दै जाँदा अस्पतालमा चाप बढेको चिकित्सकहरूको भनाइ छ । चिकित्सालयले प्रयोगशाला, स्तनपायी आमा तथा शिशु सेवा, शिरोधारा र क्षारसूत्र लगायतका विशिष्टीकृत सेवाहरू समेत प्रदान गर्दै आएको छ ।
चिकित्सालयका अनुसार साउन महिनामा दुई हजार ६ सय ५३ जनाले सेवा लिएकोमा भदौमा एक हजार आठ सय ९९ र असोजमा एक हजार चार सय ८३ जनाले उपचार गराएका छन् । त्यसैगरी कात्तिकमा दुई हजार एक सय ३७ र मङ्सिरमा तीन हजार आठ सय २२ जना बिरामी पुगेकोमा पुस महिनामा यो सङ्ख्या बढेर चार हजार ६ सय ३७ पुगेको छ । पछिल्लो समय आयुर्वेदिक उपचार विधिको प्रभावकारिता बढेसँगै बिरामीको सङ्ख्यामा पनि बढोत्तरी हुँदै गएको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ तनहुँका अतिरिक्त छिमेकी जिल्लाहरू गोरखा, लमजुङ, स्याङ्जा र कास्कीबाट समेत ठुलो सङ्ख्यामा बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
संविधान सभा सदस्य एवं व्यास नगरपालिका–१२ गोल्ला निवासी उर्मिला थापाले पनि यस चिकित्सालयको सेवाप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । लामो समयदेखि टाउको दुख्ने समस्याबाट पीडित थापाले यहाँको आयुर्वेदिक उपचारपछि धेरै राहत मिलेको बताउनुभयो । उहाँ जस्तै धेरै विशिष्ट व्यक्ति र सर्वसाधारणको रोजाइमा यो चिकित्सालय पर्न थालेको छ । चिकित्सालयले प्रवाह गर्ने विभिन्न सेवामध्ये बहिरङ्ग सेवाबाट ६ हजार एक सय ६३, पञ्चकर्म विधिबाट पाँच हजार नौ सय छ, योग सेवाबाट तीन हजार एक सय सात र फिजियोथेरापीबाट एक हजार ८६ जनाले सेवा लिएका छन् ।