• १० फागुन २०८२, आइतबार

सालको पात टपरी गाँसेर...

blog

सालको पात टपरी गाँसेर,

भेट भो माया जाम डाँडै काटेर,

पानी तालैमा । 

(गा. उमा गुरुङ)


यो मायाले के ल्यायो हातैमा, 

खानेकुरा क्यै छ कि साथैमा, 

सालैको पातैले दिए खान्थेँ मायाको दाहिने हातैले ।

(गा. प्रेमराजा महत/सूर्यकुमारी गुरुङ)


माथिबाट को आयो सालको पात बजाउँदै, 

हितकारी मायालाई बोलाउँदै ।

(गा. स्व. प्रवीण गुरुङ)

नेपाली समाजमा यी र यस्ता अनेकौँ लोकगीत छन् । जहाँ सालको पात र त्यसबाट बन्ने दुना–टपरीको सन्दर्भ आउँछ । नेपाली सनातन धर्मावलम्बीको जन्मदेखि मृत्युसम्मका कर्ममा सालको पात प्रयोग अनिवार्य मानिएको छ । नामकरणदेखि अन्नप्राशन, व्रतबन्ध र विवाहसम्म तथा मृत्यु संस्कारदेखि श्राद्धसम्मका कर्ममा सालबाटै बनेको पात्र (भाँडा) प्रयोग हुन्छ । 

यति मात्र कहाँ हो र ती कर्ममा गरिने खानपान (सानादेखि ठूला भोजभतेर) मा समेत सालकै पातको टपरी र बोहता प्रयोग गरिन्छ । ग्रामीण जीवनमा मायालुले ल्याइदिने कोसेली (काफल, ऐँसेलु, चुत्रादेखि खुवा र कुराउनीसम्म) पनि सालको पातमै हुन्छन् । अचेल कतिपय होटेल–रेस्टुरेन्टले आफ्ना ग्राहकलाई टपरी र बोहतामा खानेकुरा खुवाउने गरेको पनि देखिन्छ ।

टपरीको प्रकार र प्रयोग

दुई पात हातमा लिएर बाँसको सिन्काले जोडेर आधार बनाइन्छ टपरी । एक छेउबाट अरू थप्दै थप्दै उठाइन्छ र थाल आकारको बनाइन्छ । यो टपरी हो । बनाउनेको हात (सिप) अनुसार यो ठूलो–सानो वा गहिरो हुन्छ । टपरीका विभिन्न प्रकारका हुन्छन् । जस्तै देवताको पूजामा चारकुने (चार पात देखिने) बनाइन्छ । श्राद्ध आदिमा सिदा हाल्न पाँचकुने भएको चाहिन्छ । विवाहको वरणीमा उत्तानो परेको र व्यास ठूलो भएको फराकिलो टपरी आवश्यक पर्छ । किनभने दुलहीका बाबुले वरणमा दुलहालाई दिने सबै सामान त्यहाँ अटाउनु पर्छ । 

टपरीको बनावटमा दुई वटा पात मात्र प्रयोग गरी बनाइने कचौरा आकारको पात्र बोहता हो । बोहता देवताको पूजामा आवश्यक पर्छ । देवतालाई अर्पण गर्ने प्रसाद राख्नेदेखि अघ्र्य आदि थाप्न पनि यसको प्रयोग गरिन्छ । दुई पातलाई चारकुने पारी बनाइने पात्र चाहिँ दुना हो । पितृकार्यमा दुना प्रयोग हुन्छ । टपरी, दुना र बोहता जे नै बनाए पनि तल र माथि दुई तह हुन्छ । अगाडि र पछाडि नै पातको सुल्टो भाग देखिने गरी बनाउनु पर्छ । अर्थात् पातको उल्टो भाग भित्रपट्टि टाँसिएर बसेका हुन्छन् । 

तर मृत्यु संस्कारमा ११ दिनसम्म एकसरो पातको पात्र प्रयोग हुन्छ । प्रेतको पूजा, पिण्ड मुछ्न र किरियापुत्रीले खानसमेत एकसरो लपेसको प्रयोग हुन्छ । यो टपरी जसरी उठाइँदैन । पात सर्लक्क गाँसिएको हुन्छ । मृत्यु संस्कारमा प्रयोग गरिने अर्को पात्र हो खोचा । बिहान ढिकुरोमा पूजा गर्दा जल चढाउन, पूजा सामग्री राख्न र सायकाल (साँझ) बत्ती बाल्न प्रयोग हुन्छ । ११ औँ दिनमा गरिने जलदान पनि यसमै गरिन्छ । यो ३६५ दिनका लागि ३६५ कै सङ्ख्यामा हुन्छ । उपलब्ध हुने ठाउँमा काभ्रो वा अन्य शुद्ध वृक्षका पातले बनाउने चलन पनि छ । कर्म सकिएपछि सबै नदीमा बहाइन्छ । 

पहाडी क्षेत्रमा पहिले पहिले विवाह–ब्रतवन्ध जस्ता ठूला भोजभतेरमा टपरीको प्रयोग हुन्थ्यो । बारीका कान्लामा लहरै बसेर दालभात, तरकारी र अचार एउटै टपरीमा मुछेर खाएको दृश्य देख्न सकिन्थ्यो । तराईका कतिपय ठाउँमा अझै पनि यसरी भोज खाएको देखिन्छ । यसै गरी विवाह–व्रतबन्धका सेल, चिउरा र कसार टपरीमै दिने चलन अझै छ । यसै गरी अन्य पूजामा पनि प्रसाद टपरी र बोहतामै वितरण गरिन्छ । नेवार समुदायको भोजमा पनि टपरीको महत्व छ । 

पहाडी क्षेत्रमा मात्र होइन तराईको संस्कृतिमा पनि सालको पात अनिवार्य मानिन्छ । नेपाल संस्कृत विश्वविद्यालयमा उपप्राध्यापक रहेका नवीन झाका अनुसार तराईमा पूजामा कटहरको पात र श्राद्धमा केराको पातको पात्र प्रयोग हुन्छ तर मठमन्दिर र भोजभतेरमा सालको पातकै प्रयोग हुने गर्छ । केरा र कटहरका पात पवित्र मानिए पनि भाँडा बनाउन अलि असहज हुने कारण सालको पात प्रयोग गरिन्छ । थारू समुदायमा पनि माघीलगायतका पर्व मनाउँदा सालकै टपरी, दुनामा विभिन्न परिकार खाने चलन छ ।

यसै गरी पहिले वनभोजमा समेत टपरीमा खाने चलन थियो । अहिले पूजाकर्ममा बाहेक सालको पात प्रयोग घट्दै गएको छ । नेपालमा कानुनी रूपमा कतिपय वनजङ्गलबाट पातसमेत ल्याउन निषेध गरिएको छ । त्यस्तै सालको रुख धेरै अग्लो हुने भएकाले चढेर पात सङ्कलन गर्ने काम झन्झटिलो मानिन्छ । अनि अचेल धेरैले टपरी–बोहता गाँस्ने सिप सिक्न छाडेका पनि छन् । पहिले पहिले कम्तीमा छोरीलाई यस्तो सिप सिकाइन्थ्यो । 

अस्वस्थकरमा रुचि

सबैलाई थाहा भएको तथ्य हो सालको पातको टपरीमा काँचा वा पाकेको जेसुकै खानेकुरा राखेर खाए पनि स्वास्थ्यमा असर गर्दैन तर प्लास्टिकका भाँडामा पाकेका तातो पदार्थ खाए क्यान्सरसम्मको खतरा हुने वैज्ञानिक अनुसन्धानले देखाएको छ । कुनै प्लास्टिकको भाँडामा खाँदा त तातोले त्यसको गन्ध आएको पनि थाहा हुन्छ । तैपनि अचेल घरदेखि मन्दिरमा गरिने पूजा र वनभोजमा समेत हामी निर्बाध रूपमा प्लास्टिकका थाल–कचौरा प्रयोग गर्छौं । 

सालको चर्चा

हिमालयको दक्षिणी भेग, पूर्वमा बर्मादेखि बङ्गलादेश, भारतमा पाइन्छ साल । नेपालको सन्दर्भमा विशेष गरी पहाडी क्षेत्र, चुरे उपउष्णप्रदेशीय क्षेत्रमा फैलिएका वनमा साल पाइन्छ । भित्री तराईका होँचा पहाडमा पनि सालका वृक्ष देखिन्छन् । ३०–३५ मिटरसम्म अग्लो हुने साल पर्यावरणीय दृष्टिले पनि ज्यादै उपयोगी वृक्ष हो । 

पानी प्रशस्त पर्ने ठाउँमा साल सदाबहार वृक्ष मानिएको छ । सुक्खा ठाउँमा भने वर्षा नहुने समयमा सालको पात झर्छ । पात झर्ने समय फागुनदेखि वैशाखसम्म हुन्छ । वैशाखदेखि असारसम्म पात पलाउँछ । 

सालको अध्ययन गर्दा संस्कृत भाषामा ‘साल’ नामको पवित्र वृक्षको उल्लेख छ । आयुर्वेदमा सालको बोक्रा र चोपबाट औषधी बन्ने बताइएको छ । सालका रुख प्रशस्त हुने वा सहजै पात पाइने ठाउँमा अहिले पनि कतिपय विद्यालय तथा महिला समूहलगायतले टपरी बनाउने सिप सिकाइरहेको देखिन्छ । 

  –युवामञ्च