• १० फागुन २०८२, आइतबार

चुनावी व्यवस्थापनको काम तीव्र

blog

सल्यानमा आएका निर्वाचन सामग्री व्यवस्थापन गरिँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

सल्यान समाचारदाता

सल्यान, फागुन १० गते । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनको काम धमाधम भइरहेको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित सल्यानमा आवश्यक मतपत्र तथा बन्दोबस्ती सामग्रीको तयारी धमाधम भइरहेको छ । 

निर्वाचन कार्यालय सल्यानका अनुसार मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लामा आइपुगेका छन् भने व्यवस्थापनको काम पनि तीव्र गतिमा अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका जिल्ला निर्वाचन अधिकारी धीरेन्द्र भण्डारीले मतदान स्थलमा आवश्यक सामग्री व्यवस्थापन तथा समन्वयको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था, सामग्री ढुवानी तथा प्राविधिक तयारीलाई विशेष प्राथमिकता दिइएको छ । त्यसै गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले मतपत्र प्याकेजिङ कार्य सुरु गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको जिम्मेवारी निर्धारण गरिसकिएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

यस निर्वाचनका लागि सल्यान जिल्लामा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रमा कुल एक हजार २३० जना कर्मचारी परिचालन गरिने जनाइएको छ । जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।