रामकृष्ण बोहरा
बागलुङ, फागुन १० गते । प्रतिनिधिसभाको निर्वाचन नजिकीदै जाँदा ठुला राजनीतिक दलका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न थालेका छन् । पार्टीको चुनावी एजेण्डा सुनाउँदै मतदाताको घरघरमा पुगेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताले छुट दिएपछि आमसभा गर्नेदेखि प्रतिबद्धता पत्र समेत सार्वजनिक गर्न थालेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागलुङ क्षेत्र नं. १ का उम्मेदवार सुशिल खड्काले वातावरण संरक्षण, आईटी र पर्यटनको क्षेत्रमा काम गरेर रोजगारी बढाउनेसहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । खड्काले नेपालको वर्तमान अर्थतन्त्रलाई मजबुत बनाएर रोजगारी सिर्जना गर्न सकिने प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बताउनुभयो ।
‘‘अहिलेको ३ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर पाँच वर्षभित्र ७ प्रतिशत पुर्याउने लक्ष्य छ’’ उहाँले भन्नुभयो, ‘‘त्यसका लागि हरित विकास, सरकारी सेवालाई छरितो र पारदर्शी बनाउनुपर्छ ।’’ जिल्लाभित्रै १२ हजारबढी आइटी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, बागलुङको हावापानी सुहाउने खालको डाटा सेन्टर बनाउने, कृषिलाई व्यवसायिक बनाउने, वितरण प्रणाली पारदर्शी, सहकारी पीडितको रकम फिर्ता गर्ने खड्काका योजना छन् ।
उहाँले फोहोर मैला शून्य नगर बनाउने, युवा, महिला, दलीत, जनजाती, अपाङ्ग भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यक सबैले राज्यका सेवा सबैले समान पाउनुपर्ने, उपयोगी र गुणस्तरीय पूर्वाधारबाट जनजीवन सहज बनाउने, जनताको स्वास्थ्यमा लगानी बढाउने, एक वडा एक कृषि प्राविधिक तयार गर्ने जस्ता काम गर्ने बताउनुभयो ।
यस्तै, बागलुङ क्षेत्र नंं. १ का लागि एमालेका उम्मेदवार बन्नुभएका हिराबहादुर केसीले शनिबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जनताले विश्वास गर्ने गरी निर्वाचनमा बाचा लिएर आएको बताउनुभएको छ । केन्द्रीय नीति र घोषणा पत्रसँगै जिल्ला तहमा आफ्नो प्रतिबद्धता पत्र आएको बताउँदै केसीले जिल्ला तहमा कृषि, शिक्षा, स्वास्थ्य, सिँचाइ, उद्योग तथा व्यवसाय र रोजगारी लागयतका विषयमा आफ्नो प्रतिबद्धता बनाएर बताउनुभयो ।
आधारभूत तहको पूर्वाधार निर्माण र त्यसका लागि आधारभूत तहको काम गर्ने, कृषि क्षेत्रलाई व्यवसायिक र निर्यातमुखी बनाउने केसीका योजना छन् । बाँदरबाट जोगाउन विशेष नीति ल्याउने, चक्लाबन्दीमा खेती गर्ने र न्यूनतम मूल्यको ग्यारेन्टी गराउने, कोल्ड स्टोर निर्माण गरी उत्पादनलाई राज्यले किन्ने व्यवस्था गर्ने योजना केसीले सुनाउनुभयो ।
नागरिकको जनजिविकाको मुद्दामा चासो बढाएर प्राथमिकीकरण गर्ने, दैनिक उपभोग्य बस्तुको मूल्य तथा बढ्दो महँगी नियन्त्रणमा ध्यान दिने, श्रम शक्तिलाई अबका दिनमा बिदेश पठाउने नभइ स्वदेशमै राखेर काम लगाउने, उनीहरुको क्षमताको मूल्याङ्कन गरेर सोही प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने केसीका प्राथमिकतामा छन् ।
एक हजार मानिस अट्ने सभाहल, खेल रंगाशाला बनाउने, कालीगण्डकी करिडोरलाई बागलुङ बजार भएर म्याग्दी जाने बनाउने केसीको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।