सिँजा समाचारदाता
सिँजा (जुम्ला), फागुन १० गते । जुम्ला तातोपानी–१, बाइराकागाउँका मीनबहादुर शाही हरेक चुनावमा खानेपानी आयोजना बनाइदिनुपर्ने भन्दै उम्मेदवारसामु आवाज उठाउँदै आउनुभएको छ । अहिले पनि मत माग्न आउने हरेक उम्मेदवारसँग उहाँले खानेपानीको व्यवस्था गर्न माग गर्दै आउनुभएको छ । उम्मेदवारले पनि आफ्नो प्राथमिकता खानेपानी आयोजना रहेको भन्दै आउनुभएको छ तर जब चुनाव जितेर संसद्मा प्रवेश गर्नुहुन्छ अनि बाइराकागाउँमा बाचा बिर्सन्छन् । अहिले बाइराकागाउँका मतदाताले उम्मेदवारप्रति विश्वास गर्न छाडेका छन् ।
बर्सौंदेखि खानेपानीको समस्या हल गरिदिनका लागि अनुरोध गरे पनि समाधान नभएको उहाँको भनाइ छ । पाँच दशकदेखि खानेपानीको माग अहिलेसम्म सम्बोधन हुन सकेन । अहिले गाउँमा एउटा मात्र धारो छ । त्यही धारोमा पनि घन्टौँसम्म ट्याङ्कीमा पानी जम्मा पारेपछि मात्रै पानी खस्छ । एकाबिहानै गाग्री बोकेर लाइनमा बस्नु परेको स्थानीय शान्ति शाहीले दुःखेसो गर्नुभयो । हरेक चुनावमा पानी ल्याइदिने बाचा उम्मेदवारका यथावत् छन् । गाउँले अहिले नजिकै रहेको तिला नदीमा गएर खानेपानी बोकिरहेका छन् । २०५६ सालमा नेकपा (एमाले) का देवीलाल थापाले चुनाव जित्नुभयो । उतिबेला पनि यहाँको खानेपानीको माग चर्को रूपमा उठेको थियो । त्यो अहिलेसम्म कायम छ । २०६४ सालमा गाउँले आन्दोलनमा उत्रिए ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिए । रित्ता गाग्री र जर्किन प्रदर्शन गरे । न राज्यले सुन्यो नत जनप्रतिनिधिको ध्यान पुगेको स्थानीय तिलबहादुर शाहीले गुनासो गर्नुभयो । खानेपानी समस्याले बस्ती सङ्कटमा छ । जिल्ला प्रशासन कार्यालयमा पटक पटक डेलिगेसन जानेदेखि, अनसन बस्ने र तत्कालीन जिल्ला विकास समितिमा तालासमेत स्थानीयले लगाए तर कुनै सुनुवाइ भएको छैन । छिमेकी गाउँमा मुहान खोज्न धेरै पहल गरे तर पानीको मुहान भेटिएन । पछिल्लो समयमा स्थानीयले तिला नदीको पानी शुद्धीकरण गरेर घर घरमा धारा पुर्याइदिन माग गरेका छन् । अहिलेसम्म गाउँमा चार जना उम्मेदवार पुगेका छन् । उनीहरूले खानेपानी पुर्याइदिने वाचा दोहोर्याएका छन् तर मतदाताले विश्वास मानिरहेका छैनन् । नदीको पानी लिफ्टिङ गरेर गाउँ पुर्याउने प्रयास पनि भए तर निकै महँगो पर्ने भएकाले स्थानीयले धान्न सकेनन् ।