काठमाडौँ, फागुन ९ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले जय ट्रफी क्रिकेट प्रतियोगितामा शनिबार जित निकालेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले साविक विजेता नेपालपुलिस क्लबलाई नौ विकेटले हरायो । यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले हरायो ।
आर्मीका स्पीनरले नौ विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले ८८ रन मात्र बनाएर ४१ रनको अग्रताका साथ आर्मीलाई ४२ रनको लक्ष्य दिएको थियो । कुशल मल्लले विजयी चौका प्रहार गर्दै अविजित ४२ रन बनाउनुभयो । इमरान शेख एक रनमा आउट हुनुभयो ।
यससअघि दोस्रो इनिङमा ४७ रनले पछाडि परेको अवस्थाबाट ब्याटिङ गरेको पुलिस ८८ रनमा अलआउट हुँदै ४१ रनको अग्रता बनाएको थियो ।
यस्तै बागमतीलाई पराजित गर्ने क्रममा एपिएफका बलर इर्शाद अहमदले पाँच विकेट र ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाउनुभएको थियो ।
मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा बागमतीले दिएको एक सय ३७ रनको लक्ष्य एपिएफले दोस्रो सत्रमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
एपिएफका कप्तान रोहित ५६ रनमा अविजित रहनुभयो भने आसिफ शेख ५९ रनमा आउट हुनुभएको थियो । पहिलो दिनको समाप्तिमा ३१ रनले पछाडि रहेको अवस्थाबाट ब्याटिङ सुरु गरेको बागमतीले सबै विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।