भुवन कार्की
रुपन्देही, फागुन ७ गते । बुटवलका बुद्धिजीवी नागरिक अगुवाहरुले जनताले निर्धक्क भएर मत हाल्नेगरी चुनावी वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
विहीबार बुटवल जीतगढीमा राष्ट्रिय स्वाधिनताको लागि नागरिक मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आसन्न निर्वाचनलाई जनताले उत्सवको रुपमा लिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।
आसन्न निर्वाचन र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्नै नागरिक मञ्चका अध्यक्ष पदमबहादुर कार्कीले निर्वाचनलाई उत्सवको रुपमा लिनुपर्ने भए पनि अझै त्यस्तो अवस्था नबनेको दाबी गर्नुभयो ।
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा अझै शंका रहेको भन्दै सरकार र सरोकारवाला निकायले उपयुक्त वातावरण मिलाउनुपर्ने उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले जेन्जी आन्दोलनको भावना र मर्मअनुसार देश रुपान्त्रणको आवश्यकता औंल्याउँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा यसै क्षेत्रका नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विरेन्द्र विक, अन्य उम्मेदवारहरु डा. निकोलस भुसाल, सुरज पाण्डे, नारायण नागिला, लिलाबहादुर केसी तथा नागरिक अगुवा एवं बुद्धिजीवीहरु दिल साहनी, रविन्द्रगोपाल लाकौल, देवेन्द्रराज शाक्य, विनबहादुर कुँवर, प्रेम सुवेदी, सरद ओली, समुन्द्र जीसी, ज्ञानु केसी, शिव डुमे्र लगायतले बोल्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै भयरहित वातावरण बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुभयो ।