• ५ चैत २०८२, बिहिबार

राससको यात्रा पत्रकारिताको आधारस्तम्भ होः उपराष्ट्रपति यादव

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादव ।

काठमाडौँ, फागुन ७ गते ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति (रासस) को यात्रा समाचार सम्प्रेषणको इतिहास मात्र नभई नेपालको आधुनिक पत्रकारिताको आधारस्तम्भ भएको बताउनुभएको छ ।

राससको ६५औं वार्षिकोत्सवको अवसरमा आज राससमा आयोजित विशेष समारोहमा उहाँले विगत ६५ वर्षमा यो संस्थाले सत्य, निष्पक्षता र तटस्थताको सिद्धान्तलाई आत्मसात गर्दै आमनागरिकलाई निरन्तर सूचित गर्दै आएको उल्लेख गर्नुभयो । 

“राजनीतिक र आर्थिक जीवनको विभिन्न पक्षहरूको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व भएको र यसमा राससको भूमिका अझ बढी महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो, “आग्रह र पूर्वाग्रहबाट नभई वर्तमान परिवेशमा रूपान्तरित सोचका साथ अघि बढ्दै सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानता र सुशासनको पक्षपोषणमा यो संस्था खरो उत्रिन सक्नुपर्दछ ।”

उपराष्ट्रपति यादवले लोकतन्त्रको प्रारम्भबाटै मिडियाले जनतालाई जागरुकता प्रदान गर्दै आएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई जीवन्त बनाइन राख्न सञ्चार माध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । “अझ बढी राससले निष्पक्ष रूपमा सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक घटनाहरूको विश्लेषण गर्न सक्दछ । सरकारी स्वामित्वमा रहेकाले यस संस्थाले सरकारी नीतिहरूको विषयमा एउटा समझदारी विकसित गर्दै राष्ट्रको विकासमा तीव्रता प्रदान गर्न सक्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

सूचना प्रविधिको विकासले पत्रकारितामा सङ्ख्यात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले उक्त चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राससले व्यावसायिक आचरणलाई परिस्कृत, परिमार्जित गर्दै अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

यस संस्थाले नेपाल भाषा, अवधि, मैथिली भाषासहित विभिन्न मातृभाषामा सामग्री उत्पादन सुरु गरेर समावेशिता र विविधताको सम्मान गरेकामा प्रशंसा गर्नुभयो ।“यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन र नागरिक अपनत्व बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

उपराष्ट्रपति यादवले निराशा, कुन्ठा र नकारात्मकताले गाँजिएको समाजमा सकारात्मकता पक्षपोषणको मियो बन्ने जिम्मेवारी पनि राससकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जवाफदेहिता आत्मसात गर्दै यस संस्थाले देश विकासमा दत्तचित्त भई अगाडि बढ्न सबैलाई प्रेरित गर्न सक्ने विषयवस्तुमा जोड दिन सक्नुपर्नेमा जोड दिनुभयो । 

राससले मुलुकको उन्नति, प्रगति र समृद्धिको यात्रामा आफ्ना सामग्रीमार्फत् पत्रकारितामा अग्रणी भूमिका निर्वाह गर्न सकोस् भनी उहाँले शुभकामना दिनुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “राससले मनाउँदै गरेको यो वार्षिकोत्सव अतीतलाई प्रतिबिम्बित गर्ने र भविष्यको रूपरेखा कोर्ने अवसर एवं संस्थाको सफलता र प्रगतिको समिक्षा गर्ने महत्त्वपूर्ण मौका हो । यस अवसरमा यस संस्थाले आफ्ना सकारात्मक पक्षलाई अङ्गाल्दै विगतका कमी कमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्छ ।”


लोकतन्त्रका पक्षमा राससको योगदान अतुलनीय छः कार्यकारी अध्यक्ष झा
यसैगरी, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सदैव सत्यतथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गरी मुलुक र लोकतन्त्रका पक्षमा राससले अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । कार्यक्रममा कार्यकारी अध्यक्ष झाले संस्थालाई प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा अहोरात्र खटिरहेको राससको भूमिका परिवर्तित सन्दर्भमा अझै बढेको बताउनुभयो ।

उहाँले आधिकारिक र विश्वसनीय सूचनाबिना लोकतन्त्र अघि बढ्न नसक्ने उल्लेख गर्दै लोकतन्त्रलाई जनताको घरदैलोमा अनुभूत गराउने संस्थाका रूपमा राससको जन्म भएको हो, त्यसैले बदलिँदो सञ्चार परिवेशसँगै पुरातन ऐन, कानुनसहित संस्थाको संरचना र नीति तथा कार्यक्रमसमेत परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

नयाँ युगसँगै राससलाई अघि बढाउन नीतिगत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले राससको सामथ्र्यलाई अझ विस्तार गर्न सामाजिक सञ्जालको आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यकारी अध्यक्ष झाले अब समाचार सम्प्रेषण केवल ‘न्यूज लाइन’ प्रविधिबाट प्रभावकारी नहुने भन्दै सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगमा राससको ध्यान केन्द्रित हुनुपर्ने समय आएको बताउनुभयो ।

सत्यतथ्य र आधिकारिक सूचना प्रवाहमा एक रुपता ल्याउन राससले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दैै कार्यकारी अध्यक्ष झाले लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रेस बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

राससले आफ्नो समाचार सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्ने क्रममा अवधी, मैथिली र नेपाल भाषामा समाचार सेवा  सञ्चालनसहित  नेपाली समाचार सेवा २४सै घण्टा सम्प्रेषण गरेको उहाँले जानकारी दिनुभयो । कार्यकारी अध्यक्ष झाले मातृभाषामा सञ्चालन गरिएको समाचार सेवा क्रमशः विस्तार गर्ने र राससबाट सम्प्रेषित अन्य सेवालाई पनि २४सै घण्टामा लैजाने सोच रहेको बताउनुभयो ।

स्थापनाको ६५ वर्षको इतिहासमा राससले अनेकौँ उतारचढाव व्यहोरेको चर्चा गर्दै कार्यकारी अध्यक्ष झाले  करिब चार वर्षको आफ्नो अनुभवबाट ‘नेपाली मिडिया’मा राससको असीमित सम्भावना रहेको पुष्टि भएको बताउनुभयो ।

“हामीले परीक्षणका रूपमा ‘पोडकास्ट’ सेवा सुरु गरेका छौँ । अब नयाँ सम्भावनाको खोजीमा रासस जानुपर्छ,” उहाँले भन्नुभयो । रासस अझै पुराना ऐन, नियम विनियमावली र निर्देशिकाबाट सञ्चालित भइरहेको उल्लेख गर्दै उहाँले नयाँ युगलाई स्वीकार गर्ने गरी ५० वर्षका लागि दीर्घकालीन प्रकृतिको नीतिगत परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

कार्यकारी अध्यक्ष झाले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षाका सन्दर्भमा राज्यसहित आमसञ्चार क्षेत्रमा गहन ढङ्गबाट बहस तथा छलफल हुनुपर्ने समय आएको उल्लेख गर्दै सरोकारवाला भएका सबैको सहयोगमा रासस र राससकर्मीका पक्षमा यथासक्य काम गरेको बताउनुभयो ।  

उहाँले मिथ्या सूचनाको बाढीले मुलुक र लोकतन्त्रलाई कमजोर बनाउन लागेको विद्यमान अवस्थामा मिथ्या र अफवाह सूचनाका कारण हुने क्षति न्यूनीकरण तथा नियन्त्रणका लागि राससको भूमिका अझै बढेको छ भन्नुभयो ।