काठमाडौँ, फागुन ७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सव मूल समारोहको आज उद्घाटन गर्नुभएको छ ।
रासस केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित समारोहमा उपराष्ट्रपति यादवले राससको इतिहास तथा उपलब्धि समेटिएको वृत्तचित्रको ‘स्विच अन’ गरेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा विभिन्न संवैधानिक निकायका पदाधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उच्च अधिकारीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ । कार्यक्रममा राससमा कार्यरत उत्कृष्ट पत्रकार, कर्मचारी र स्थानीय समाचारदातालाई पुरस्कार प्रदान गरिँदैछ ।
विसं. २०१८ फागुन ७ गते स्थापित राससले नेपाली, अंग्रेजी, अन्तर्राष्ट्रिय, फोटो, श्रव्यदृश्य, मातृभाषालगायत सेवा प्रवाह गर्दै आएको छ । हाल राससले चौबिसै घन्टा नेपाली समाचार सेवा सञ्चालन गर्दै आएको छ ।
रासस इतिहासको साक्षी मात्र होइन, अभिलेखकर्ता-महाप्रबन्धक राई

राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दिप राईले रासस केवल इतिहासको साक्षीमात्र नभएर इतिहासको अभिलेखकर्ता पनि बनेर नेपाल र नेपालीसामु उपस्थित रहेको बताउनुभएको छ ।
राससको ६५ औँ वार्षिकोत्सवका अवसरमा आज राससमा आयोजित विशेष समारोहमा स्वागत मन्तव्य राख्दै उहाँले आफ्नो ६५ वर्षे यात्रामा राससले विभिन्न आरोह अवरोहहरू पार गर्दै देशका ठुला राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य परिवर्तनहरूको साक्षी बनेको र साक्षी मात्र नभएर यो लामो इतिहासको अभिलेखकर्ताका रूपमा समेत नेपाल र नेपालीसामु रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “पञ्चायतकालदेखि, जेनजी जनआन्दोलनसम्म, संविधान निर्माणदेखि र सङ्घीय शासन प्रणालीको कार्यान्वयनसम्म रासस केवल इतिहासको साक्षी मात्र बनेन, इतिहासको अभिलेखकर्ता पनि बन्यो । देशका हरेक राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका मोडमा राससले आधिकारिक, विश्वसनीय र तथ्यपरक समाचार प्रवाह गर्दै आफ्नो संस्थागत दायित्व निभाएको छ ।”
साढे छ दशकदेखि मुलुकमा समाचार सेवा प्रदान गर्दै आएको राससले सूचना प्रविधिको तीव्र विकाससँगै अहिले डिजिटल प्लेटफर्ममा सेवा विस्तार गरिरहेको बताउँदै महाप्रबन्धक राईले रासस आज मुलुकका समग्र आमसञ्चार माध्यमको मात्र नभएर सरकारी निकाय, कूटनीतिक नियोग, निजी क्षेत्र र आम नागरिकका लागि विश्वसनीय सूचनाको प्रमुख स्रोत बनेको उल्लेख गर्नुभयो । रासस