कीर्तिपुर, फागुन ७ गते । स्नातक उत्तीर्ण विद्यार्थीलाई मङ्गल बहुमुखी क्याम्पसले दीक्षित गरेको छ । क्याम्पस स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले ४३ जना विद्यार्थीलाई दीक्षित गर्नुभएको हो ।
कीर्तिपुर नयाँबजारस्थित केएनएस प्यालेसमा बिहीबार आयोजित कार्यक्रममा उपकुलपति अर्यालले दीक्षित विद्यार्थीलाई विदेशमा गएर अध्ययन गर्नुभन्दा पनि त्रिभुवन विश्वविद्यालयमै भर्ना भएर आफ्नो भविष्य निर्माण गर्न आह्वान गर्नुभयो । उहाँले उच्च शिक्षालाई विश्वस्तरको बनाउनका लागि छुट्टै आयोग स्थापनामा जोड दिनुहुँदै हरेक क्याम्पसले अनुसन्धानमा काम गर्नु आवश्यक रहेको चर्चा गर्नुभयो ।
नेपालमा रहेका सामुदायिक क्याम्पसले शैक्षिक स्तरमा उल्लेखनीय योगदान दिएको बताउनु हुँदै उहाँले सरकारले गर्ने सहयोगमा वृद्धि हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । यस्तै बागमती प्रदेश सभा सदस्य पुकार महर्जनले बागमती प्रदेशले सामुदायिक क्याम्पसलाई आवश्यकताका आधारमा सहयोग गर्ने बताउनुभयो । उहाँले सरकारले स्नातक उत्तीर्ण परीक्षार्थीलाई रोजगारी दिने गरी शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यले विद्यार्थीलाई रोजगारी दिने गरी प्राविधिक शिक्षामा जोड दिनुभयो । "कीर्तिपुरमै स्थापना भएको त्रिभुवन विश्वविद्यालयले यहाँका सामुदायिक क्याम्पसहरूलाई विशेष रूपमा सहयोग गर्नुपर्छ," उहाँले भन्नुभयो । क्याम्पस व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष तथा मङ्गल रिसर्च जर्नलका प्रधानसम्पादक प्राडा. लक्ष्मीबहादुर महर्जनले त्रिभुवन विश्वविद्यालयसँग हातेमालो गरेर शैक्षिक उन्नयनका लागि योगदान दिने बताउनुभयो ।
क्याम्पस प्रमुख प्रदीप महर्जनले देशको माटो सुहाउँदो शिक्षा अपरिहार्य रहेको बताउनुहुँदै चाँडै स्नातकोत्तर तहमा पनि शिक्षा दिने प्रक्रियामा रहेको जानकारी दिनुभयो । यस्तै कार्यक्रममा कृष्ण–हीरा अक्षयकोष, रत्नबहादुर स्नातक, रत्नभाइ नगद, विद्यानन्द नगद, रुद्रबहादुर स्मृति, टीकाचन्द्र विश्व अक्षयकोष, खेम–अनिस स्मृति, जुलुम शाक्य स्मृति, जया–रत्ना नामका पुरस्कार वितरण गरिएको थियो ।
भोजपुर नगरपालिका–१२, टक्सारबाट अध्ययन गरेर दीक्षित हुनुभएका दिपेश शाक्यले क्याम्पसमा पाएको उत्कृष्ट शिक्षा र दीक्षालाई देश र समाजको हितका लागि सदुपयोग गर्ने प्रतिक्रिया दिनुभयो । कार्यक्रममा विद्यार्थी तथा शिक्षक–शिक्षिकाले देउडा, नेवारी, तामाङ सेलो, रिमिक्स नाच, उखानटुक्का, मुक्तक, कविता र गीत प्रस्तुत गर्नुभएको थियो ।