• ७ फागुन २०८२, बिहिबार

प्रजातन्त्र दिवसमा तनहुँको क्रान्तिकारी इतिहासको स्मरण

blog

अमरराज नहर्की

तनहुँ, फागुन ७ गते । सात दशकअघिको जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्र उदयको त्यो ऐतिहासिक दिन बिहीबार तनहुँको बन्दीपुरमा पुनः गुञ्जायमान भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ का अवसरमा जिल्ला समारोह समिति तनहुँद्वारा बन्दीपुर–४ स्थित शहीद स्मारक पार्कमा आयोजित कार्यक्रममा २००७ सालको क्रान्ति र त्यसमा तनहुँले बगाएको रगतको गाथालाई विशेष श्रद्धाका साथ स्मरण गरिएको हो ।

प्रजातन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने वीरहरूको स्मारकलाई साक्षी राखेर आयोजित उक्त समारोहमा वक्ताहरूले वर्तमानको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग नै २००७ सालको जनआन्दोलन भएको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले प्रजातन्त्र केवल शासन बदल्ने माध्यम मात्र नभई नागरिकको जीवनशैली र स्वतन्त्रताको संवाहक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर, पुलिमर्‍याङ र तनहुँसुरजस्ता ठाउँबाट उठ्नुभएका शहीदहरूले नै नेपालमा विधिको शासनको सपना देख्नुभएको थियो, त्यो सपना जोगाउनु आजको मुख्य दायित्व हो ।”

पोखरेलले तनहुँको क्रान्तिकारी इतिहासको चर्चा गर्दै एउटै स्थानमा ६ जना र अर्को गाउँका ४ जनाले सहादत प्राप्त गरेको घटनालाई नेपालको राजनीतिक इतिहासकै ‘दुर्लभ र गौरवपूर्ण’ अध्यायका रूपमा व्याख्या गर्नुभयो । उहाँले व्यास नगरपालिकाले मानहुँकोटदेखि पुलिमर्‍याङ र व्यास गुफादेखि तनहुँसुरसम्म म्याराथन आयोजना गरी खेलकुदमार्फत शहीदको सम्झना गरेकोमा सन्तोष व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले २००७ साल मंसिर २४ गते मुक्ति सेनाले पश्चिम ४ नम्बर क्षेत्रमा गरेको सैन्य सङ्घर्ष र त्यसका कमान्डरको साहसबारे प्रकाश पार्नुभयो । श्रीभद्र शर्मा र गोवर्द्धन शर्माजस्ता नेताहरूको सुझबुझपूर्ण नेतृत्वले नै यो क्षेत्रलाई प्रजातन्त्रको गढ बनाएको उहाँको भनाइ थियो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले शहीदहरूको सम्मानमा गाउँपालिकाले प्रतिमा स्थापना र स्मारकको स्तरोन्नतिलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले शहीदका सपनालाई मूर्त रूप दिन जिल्लाका सबै पालिकाबीच नीतिगत सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

२००७ सालको क्रान्तिमा बन्दीपुरको मोर्चा सम्हाल्ने क्रममा पुलिमर्‍याङका धर्मध्वज गुरुङ, तनहुँसुरका उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर रानामगर, धर्मराज श्रेष्ठ, चन्द्रबहादुर सार्की र वसन्तपुरका खड्कबहादुर गोदारले माघ १ गते सहादत प्राप्त गर्नुभएको थियो । ती वीरहरूको बलिदानले सिञ्चित बन्दीपुरको यो भूमि अब पर्यटकीय आकर्षणका साथै राजनीतिक तीर्थस्थलका रूपमा समेत विकसित हुँदै गएको बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया र बन्दीपुर शहीद स्मारक पार्कका अध्यक्ष कृष्णकुमार पियाले बताउनुभयो । उहाँहरूले प्रजातन्त्रका शहीद, घाइते तथा योद्धाहरूलाई एक दिन मात्रै सम्झिएर नहुने र उनीहरूले देखाएको बाटो अनुसार हिँडेर सपना पूरा गरी सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा शहीदको योगदानलाई राष्ट्रिय मूलधारमा अझ सशक्त ढङ्गले ल्याउनुपर्नेमा वक्ताको जोड थियो ।