काठमाडौँ, फागुन ७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवालजवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, 'कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै होस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।' उहाँले २०४७ सालयताका जुनसुकै पार्टीका नेतामाथि भ्रष्टाचार छानबिन गर्ने बताउनुभयो ।
उहाँले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताउनुभयो । कुन काम कति समयमा सकिन्छ, त्यो समयभित्र नै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सभापति थापाले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो, उल्लेख गरेपछि समय ढिला भए क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइने छ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ । एक घण्टामा सेवा पाइने छ भन्दा त्यो एकै घण्टामा सेवा पाउनुपर्छ । यसका निम्ति प्रविधिको प्रयोग कसरी गर्ने, अहिले भइरहेका कुन-कुन कानुनमा संशोधन गर्ने र भौतिक पूर्वाधार कसरी निर्माण गर्ने र घरमै नागरिकलाई सेवा कसरी दिन सकिने भन्नेमा हामी प्रस्ट छौँ ।'
उहाँले सेवामा ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति लगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताउनुभयो ।
पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना
सभापति थापाले नेपाली युवाका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताउनुभएको छ । कांग्रेसले चलाएको ‘मिसन रोजगारी’लाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी सङ्कल्पपत्र तयार गरेको उहाँले बताउनुभयो ।

उहाँले यत्तिकै पाँच हजार रोजगारी नभई कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सिर्जना गर्ने सङ्कल्प लिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'पाँच हजार युवाका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।'
उहाँले युवालाई डिजिटल स्वतन्त्रता र सिर्जनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकिर गर्नुभयो । "अहिलेका युवासँग थुप्रै कला, साहित्य र सिर्जना छन् । उहाँहरूले सिर्जना गर्नुभएको छ । तर त्यसलाई बेच्न बजार पाइराख्नुभएको छैन । यसबाट स्वतन्त्रता खोज्नुभएको छ । यसका बारेमा हामी प्रस्ट छौँ ।"
उहाँले युवामा अर्को महत्त्वपूर्ण कुरा सीप र सिर्जनालाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, 'कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने हुनुभएन । उसलाई दक्ष बनाइराख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरुरी छ, किनकि अहिले बजार प्रतिस्पर्धाको छ ।' यस्तै सरकारले 'ब्रेन ड्रेन' सँगै 'ब्रेन गेन' अर्थात् युवाको दक्ष जनशक्ति पलायनसँगै दक्ष जनशक्तिलाई संस्थागत रूपमा कसरी ल्याउनेतर्फ पनि योजना बनाएको सुनाउनुभयो । "विदेश पलायन भएका युवालाई नेपालमै कसरी संस्थागत ढङ्गबाट काम गर्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने कुराको योजना तयार पारेका छौँ ।"
गठबन्धनको दूषित राजनीति गर्दैनौँ
सभापति थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताउनुभएको छ । प्रतिज्ञापत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमीकमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने सङ्कल्प लिएर आएका छौँ’, उहाँले भन्नुभयो, ‘हामी हाम्रा मूल्यमान्यतालाई अझै तिखारेर जान्छौँ ।’ सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने उहाँको प्रतिज्ञा छ ।
‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबन्डा हुँदैन, हुन दिँदैनौँ । यो बदलिएको कांग्रेसको सङ्कल्प हो’, सभापति थापाले भन्नुभयो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाउनुभएको छ ।