निशा राई
धरान, फागुन ८ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केवल नारा लगाएर मात्रै मुलुकमा परिवर्तन नआउने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ द्वारा बिहीबार धरानमा आयोजित 'प्रतिबद्धता घोषणा सभा' लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उपसभापति शर्माले विगत ७५ वर्षदेखि नेपालमा कुनै पनि सरकारले पाँच वर्षको पूर्ण कार्यकाल चलाउन नपाएको उल्लेख गर्दै राजनीतिक अस्थिरता नै विकासको बाधक भएको टिप्पणी गर्नुभयो । "अबको निर्वाचनपछि बहुमत प्राप्त दलले पाँच वर्ष सरकार चलाउने र अन्य दल प्रतिपक्षमा बसेर प्रणालीलाई सघाउने संस्कार विकास भए मात्र मुलुकको मुहार फेरिने छ," उहाँले भन्नुभयो ।
नेतृत्वको सुदृढीकरणका लागि उहाँले 'एग्जिट पोलिसी' को अवधारणा अघि सार्दै भन्नुभयो, "नेतृत्व बगेको खोला जस्तो हुनुपर्छ, जमेको पोखरी जस्तो होइन । त्यसैले एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र समानुपातिक प्रणालीबाट एक पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था लागु गर्नुपर्छ ।"
गत भदौको युवा आन्दोलन (जेनजी) का क्रममा ज्यान गुमाएका युवाको प्रसङ्ग स्मरण गर्दै उपसभापति शर्माले नयाँ पुस्ताको भावना र आन्दोलनको मर्म बुझ्न नसके देश पुनः सङ्कटमा फस्न सक्ने चेतावनी दिनुभयो । उहाँले देश सञ्चालनको जिम्मेवारी 'सिकारु' लाई नभई अनुभवी र जिम्मेवार नेतृत्वलाई दिनुपर्नेमा जोड दिनुभयो ।
सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र गोले तामाङको प्रतिबद्धता पत्रका बुँदाहरू अक्षरमा लेखिएभन्दा बढी काम गरेर देखाउने दाबी गर्नुभयो । उहाँले यस क्षेत्रको जितले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउन र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्न मार्गप्रशस्त गर्ने धारणा समेत राख्नुभयो ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री डिना सङ्ग्रौला, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, धरान नगर सभापति श्याम पोख्रेल, पूर्वमेयर तिलक राई लगायतको उपस्थिति थियो ।