• ७ फागुन २०८२, बिहिबार

जनताको हितमा काम गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ।

अनिल पराजुली 

हेटौँडा, फागुन ७ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा बिहीबार हेटौँडामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले राज्यका सबै निकायले जनतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

“राजनीतिक व्यक्तित्व, निजामती प्रशासन वा सुरक्षा निकाय-सबैले जनतालाई केन्द्रमा राखेर आ–आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्नुपर्छ,” मुख्यमन्त्री बानियाँले भन्नुभयो, “जनताको सोझो चिताएर काम गरे नेपालमा थप सहिद बन्नुपर्ने अवस्था आउँदैन ।”

उहाँले विगतका कमजोरी सुधार्दै कर्तव्यप्रति निष्ठावान हुनुपर्ने बताउनुभयो । सुरक्षा निकाय, निजामती सेवा र राजनीतिक दललगायत शासन सञ्चालनमा संलग्न सबै तह पारदर्शी र जवाफदेही हुनुपर्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो, “म आफ्नो जिम्मेवारी पूरा गर्छु, तपाईंहरू पनि आफ्नो कर्तव्यमा अडिग रहनुहोस् ।”

नेपाल र नेपालीको हितविपरीत हुने तथा प्रजातन्त्रलाई कमजोर पार्ने कुनै पनि कार्य नेपाली जनताले सहन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । प्रजातन्त्रमा जनताको अधिकार मिचिएमा त्यसलाई जनताले स्वीकार नगर्ने तथ्य पछिल्ला घटनाक्रमले पुष्टि गरिसकेको उहाँले स्मरण गराउनुभयो ।