• ७ फागुन २०८२, बिहिबार

पाल्टसीका आगलागी पीडितलाई राहत

blog

राजन रावत

हुम्ला, फागुन ७ गते । सिमकोट गाउँपालिका–७, डाँडाफयाको पाल्टसी गाउँका आगलागी पीडितलाई राहत सहयोग प्रदान गरिएको छ । आगलागीबाट सम्पूर्ण क्षति बेहोर्नुभएका एक परिवारका सदस्यलाई तत्कालको समस्या समाधान गर्न गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।

पाल्टसीका आगलागी पीडित शाही परिवारलाई राहत सहयोग गरिएको सिमकोट गाउँपालिकाकी अधिकृत ममता रोकायाले बताउनुभयो । दैनिक गर्जो टार्नेसम्मका वस्तु नजोगिएका पीडितलाई पहिलो आवश्यकता गाँस, बास र कपासका लागि सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । राहत स्वरूप चामल, पीठो, चिउरा, तेल, मसला, पाल, कम्बल, बाल्टिन र जग लगायतका सामग्री वितरण गरिएको छ ।

गत मङ्गलबार राति शाहीको घरमा आगलागी भएको थियो । आगलागीका बेला घरमा तीन जना सदस्य रहे पनि मानवीय क्षति भने हुन पाएन । राति अबेर आगो नियन्त्रणमा आए पनि तीनतले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट लत्ताकपडा, भाँडाकुँडा, अन्नपातका साथै नगद २५ हजार रुपियाँ गरी करिब सात लाख बराबरको क्षति भएको छ । गाउँपालिका अध्यक्ष विजय भण्डारीले पीडित परिवारलाई सो राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।