• ७ फागुन २०८२, बिहिबार

निर्वाचन र मतदाता शिक्षा

blog

सवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्नु निर्वाचन आयोगको प्रमुख दायित्व हो । निर्वाचन सफल बनाउन सुसूचित मतदाताको सक्रिय सहभागिता अत्यावश्यक हुन्छ । आमनागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन मतदाता शिक्षा एवं निर्वाचन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ । मतदातालाई मतदान विधि, मतपत्रको सही प्रयोग, आचारसंहिता र गलत सूचनाबाट बच्ने उपायबारे जानकारी दिने कार्य निर्वाचनको मिति तय भएसँगै आयोगबाट क्रमशः हुँदै आएको छ ।

नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति, निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगले मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ तयार गरेर आसन्न निर्वाचनका लागि फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका छ हजार ७४३ वडामा मतदाता शिक्षा स्वंयसेवकमार्फत मतदाता शिक्षा प्रदान गर्न थालिएको छ ।

आमसञ्चार माध्यम, सामाजिक सञ्जाल तथा स्वयंसेवक परिचालनमार्फत सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रमबाट मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्नु, जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु, मतदाता सहभागिता वृद्धि गर्नु, बदर मत घटाउनुलगायतका उद्देश्य राखिएका छन् । मतदाता शिक्षा स्वयंसेवकले घरदैलो तथा विद्यालयस्तर कार्यक्रम सञ्चालन गरेर आममतदातालाई मतदान प्रक्रिया र निर्वाचनमा मताधिकार प्रयोगको महत्वको बारेमा विस्तृतमा जानकारी दिने छन् । स्वयंसेवकले घर घरमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने, विद्यालयमा विद्यार्थीमार्फत अभिभावकलाई जानकारी दिने, स्थानीय भाषामा सचेतना फैलाउने कार्य सुरु गरिसकेका छन् । 

मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घरदैलो भ्रमण गरेर नमुना मतपत्र देखाएर मतदान सिकाउने कार्य जोडतोडका साथ गरिरहेका छन् । आयोगका अधिकारिक सामाजिक सञ्जाल प्रयोगबारे पनि जानकारी दिइरहेका छन् । आयोगका सामाजिक सञ्जालबाट प्रवाह भइरहेका मतदाता शिक्षासँग सम्बन्धित सामग्री कसरी हेर्ने भन्ने बारेमा पनि जानकारी दिइरहेका छन् । निर्वाचन आचारसंहिता जानकारी गराउने, मतदाताका जिज्ञासाको समाधान गर्ने र दैनिक प्रतिवेदन पेस गर्ने कार्य मतदाता शिक्षा स्वयंसेवकबाट भइरहेको छ । 

‘म निर्वाचनमा सहभागी हुन्छु’ अभियानमार्फत राष्ट्रपति र प्रधानमन्त्रीलगायतका व्यक्तित्वबाट १ मिनेटको सन्देशमूलक भिडियो प्रसारण गरिने छ । मतदानको दिन प्रमुख निर्वाचन आयुक्तको तर्फबाट सबै मतदातालाई मतदानका लागि आह्वान गर्दै एसएमएस पठाइने छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, रासस, प्रेस काउन्सिल र विज्ञापन बोर्डसँग छुट्टाछुट्टै सम्झौता गरी मतदाता शिक्षा प्रचारप्रसार गर्ने व्यवस्था गरिएको छ । सन्देशमूलक गीत एवं लघु भिडियो सामग्रीमार्फत पनि मतदाता शिक्षा प्रदान गर्न थालिएको छ । 

आयोगले डिजिटल माध्यमबाट मतदाता शिक्षा प्रदान गरिरहेको छ । आयोगको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालका पेज आदिमार्फत मतदाता शिक्षा प्रदान गरिरहेको छ । निर्वाचन सरोकारवालाका लागि विभिन्न प्रकारका तालिममार्फत पनि आयोगले मतदाता शिक्षा प्रदान गर्दै आइरहेको छ । 

मतदाता शिक्षाको महत्व

कुनै पनि निर्वाचनमा मतदाता सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिका रूपमा लिइन्छ । यसले निर्वाचनप्रतिको नागरिकको आत्मा स्वाभिमानको अठोट र सामाजिक न्यायको सङ्कल्पलाई उजागर गर्छ । लोकतान्त्रिक व्यवस्थामा हुने निर्वाचनमा मतदाताको सहभागिता जति धेरै हुन सक्यो त्यसबाट लोकतान्त्रिक शासन प्रणाली अझै सुदृढ र दर्बिलो हुँदै जानेछ । जब नागरिक आफ्ना अधिकारप्रति सचेत र जागरुक भएर मतदाताका रूपमा दर्ता हुन्छन् र निर्वाचनमा सुसूचित मतदाता भएर आफ्नो सहभागिता जनाउँछन् तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्छ ।

आममतदातालाई मतदानमा सहभागी हुन प्रेरणा प्रदान गर्नु, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी रूपमा सम्पन्न गर्नु मुख्य जिम्मेवारी हो । यसै गरी सुसूचित मतदाता तयार गर्नु, निर्वाचनमा अर्थपूर्ण जनसहभागिता गराउनु, योग्य मतदाताको मतदानमा सहभागिता अभिवृद्धि गर्दै बदर मत न्यूनीकरण गर्नु, अमूल्य मतको महत्व बुझाउनु र योग्य प्रतिनिधि चयन गर्न सहयोग गर्नु मतदाता शिक्षाको उद्देश्य हो । 

के हो मतदाता शिक्षा ? 

मतदातालाई सही तरिकाले मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन आयोग र उसको स्वीकृतिमा अन्य संस्थाद्वारा सञ्चालन गरिने शिक्षा नै मतदाता शिक्षा हो । मतदाता शिक्षाले मतदातालाई मतदान गर्ने सही तरिका सिकाउनुका साथै मतदानको महìवका बारेमा समेत बोध गराउँछ । मतदाता शिक्षा निर्वाचन कार्यक्रमसँग सम्बन्धित हुन्छ । मतदातालाई लक्षित गरी मतदानमा मतदाताको धेरैभन्दा धेरै सहभागिताका लागि मतदाता शिक्षा प्रदान गरिन्छ । मतदाता शिक्षा छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलो, आमपहुँच कार्यक्रम, नमुना मतदान कार्यक्रम, सामाजिक सञ्जाल माध्यमबाट सबै मतदाता समेट्ने गरी आयोगले बृहत् रूपमा सञ्चालन गर्ने गर्छ । 

के हो निर्वाचन शिक्षा ?

लोकतन्त्र, संविधान, शासन प्रणाली, सुशासन, निर्वाचन प्रक्रिया, निर्वाचन पद्धति, निर्वाचन प्रणाली, नागरिक कर्तव्य र अधिकार, सरोकारवालाको भूमिका, राजनीतिक दललगायतका विषयमा आममतदाता तथा नागरिक सबैलाई निरन्तर रूपमा दिइने निर्वाचन शिक्षा हो । निर्वाचन व्यवस्थापन गर्ने निकायलगायत निर्वाचन सम्बद्ध सरोकारवाला संस्थाले निरन्तर रूपमा निर्वाचन शिक्षा प्रदान गरी नागरिकलाई राजनीतिक अधिकारको उपयोग सही तरिकाले गर्न सक्षम तुल्याउँछ । मतदाता शिक्षा निर्वाचन शिक्षा अन्तर्गत पर्छ । 

निर्वाचन शिक्षा आममतदाता तथा नागरिक सबैलाई प्रदान गरिन्छ भने मतदाता शिक्षा निर्वाचनका कुनै कार्यक्रममा आधारित भई मतदातालाई मात्र प्रदान गरिन्छ । निर्वाचन शिक्षाका विषयवस्तु लोकतन्त्र, शासकीय प्रणाली, निर्वाचन प्रणाली जस्ता फराकिला हुन्छन् भने मतदाता शिक्षाका विषयवस्तु निर्वाचन र मतदान कार्यसँग मात्र सीमित रहेका हुन्छन् । निर्वाचन शिक्षा नागरिक शिक्षाको एक अङ्गका रूपमा निरन्तर चलिरहन्छ भने मतदाता शिक्षा निर्वाचनका समयमा मात्र सञ्चालन हुन्छ । निर्वाचन शिक्षा प्रदान गर्न निर्वाचन आयोगले काठमाडौँलगायत कोशी प्रदेशको विराटनगर, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा निर्वाचन शिक्षा तथा सूचना केन्द्र स्थापना गरी निर्वाचन शिक्षा कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिरहेको छ । त्यसै गरी ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रम तथा सामाजिक अध्ययन विषय शिक्षकका लागि निर्वाचन शिक्षा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । सहजै पहुँच नपुगेका समुदाय र क्षेत्रमा प्रविधिमार्फत घुम्ती निर्वाचन शिक्षा तथा नमुना मतदान अभ्यासबाट निर्वाचन शिक्षा सञ्चालन गरिँदै आएको छ । 

निर्वाचनमा मतदाता सूचना

मतदातालाई मतदान गर्न सजिलो पार्ने उद्देश्य राखी सम्प्रेषण गरिएका सूचना नै मतदाता सूचना हुन् । मतदान गर्न कहाँ र कहिले जाने ? मतदान गर्न जाँदा आवश्यक पर्ने कागज वा प्रमाण के हुन् ? लगायतका जानकारी मतदाता सूचनाले प्रदान गर्छ । निर्वाचन आयोगले यस्ता सूचना रेडियो, टेलिभिजन, पोस्टर, पम्प्लेट, सामाजिक सञ्जाल आदि माध्यमबाट मतदातासमक्ष पु¥याउँदै आएको छ । 

नमुना मतदानमार्फत मतदाता शिक्षा 

निर्वाचनलाई जस्ताको तस्तै बुझ्न र बुझाउनका लागि निर्वाचनमा भाग लिने मतादाताको सहभागितामा उनीहरूलाई नै भूमिका अभिनय गर्न लगाई गरिने मतदानको अभ्यास नै नमुना मतदान हो । यसबाट मतदातामा निर्वाचनप्रति आकर्षण बढाउन, सहभागिता वृद्धि गर्न एवं बदर मत प्रतिशत घटाउन सहयोग पुग्न जान्छ । निर्वाचनका समयमा निर्वाचन आयोगले देशका विभिन्न स्थानमा मतदाताका बिचमा गई नमुना मतदान अभ्यास गराउँछ । नमुना मतदानमा सहभागी हुनेहरूले निर्वाचन र मतदानको प्रक्रिया सरल र सहज ढङ्गले बुझ्ने छन् । 

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा 

निर्वाचन प्रक्रियामा नागरिक सहभागिता अभिवृद्धि गर्न तथा राजनीतिक दल र उम्मेदवारलाई जनसंवादको मार्ग प्रशस्त गर्न कुनै पनि निर्वाचनमा निर्वाचन प्रचारप्रसार अनिवार्य मानिन्छ । आसन्न निर्वाचनका लागि पनि राजनीतिक दल एवं उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने अवधि फागुन ४ गतेदेखि सुरु भइसकेको छ । दल एवं उम्मेदवारले १५ दिन जुलुस, आमसभा, कोणसभा, बैठक, भेला आदिमार्फत निर्वाचन प्रचारप्रसार गर्न पाउँछन् । 

सामान्यतः कुनै पनि निर्वाचन सम्पन्न हुनुभन्दा निश्चित समयावधि अगाडिदेखि निर्वाचन प्रक्रियालाई प्रभावशाली र निर्णायक बनाउन राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार अभियान सञ्चालन गछैन् । प्रचार अभियानको मुख्य उद्देश्य उम्मेदवार वा दलको नीति, सिद्धान्त, विचार, योजना, कार्यक्रम, प्रतिबद्धता र दृष्टिकोण जनसमक्ष पु¥याउनु हो । यसले मतदातामा जानकारी सम्प्रेषण गरी निर्वाचनप्रतिको आम रुचि र आकर्षण जगाउन सहयोग गर्छ । निर्वाचनमा सहभागी उम्मेदवार तथा दलका नेताहरूले आफ्ना योजना, धारणा र सोच प्रस्तुत गरी राजनीतिक संवादलाई जीवन्त बनाउने माध्यम प्रचार अभियान हो । यो विशेषतः मतदातालाई प्रभावित पार्न, साङ्गठनिक विस्तार गर्न, सैद्धान्तिक जागरण ल्याउन, आफ्नो दल र उम्मेदवारप्रति आकर्षण बढाई समर्थन जुटाउन र अन्ततः मतदानबाट आफ्नो जित सुनिश्चित गर्न केन्द्रित हुन्छ । 

लोकतान्त्रिक अभ्यास परिपक्‍व भएका मुलुकमा प्रचार अभियानलाई जनमत निर्माणको मनोवैज्ञानिक साधनका रूपमा लिइन्छ । यसको निम्ति दल तथा उम्मेदवारले विभिन्न प्रचार माध्यम, प्रविधि र मनोवैज्ञानिक रणनीति अवलम्बन गर्छन् । निर्वाचनमा प्रचार अभियान जति सशक्त र प्रभावकारी हुन्छ त्यति नै मतदाताको सोच, धारणा, निर्णय र व्यवहारमा सकारात्मक प्रभाव पर्छ । निश्चित कानुनी आधार र नैतिक आचरणका मापदण्ड अनुसार लोकतान्त्रिक मूल्य, निष्पक्ष प्रतिस्पर्धा र नागरिक सहभागितालाई केन्द्रमा राखेर सञ्चालित हुने निर्वाचन प्रचार अभियानले सुसूचित मतदाता तयार पार्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । 

  डा. तुलाधर निर्वाचन आयुक्त हुनुहुन्छ ।

Author

डा. जानकीकुमारी तुलाधर