पेसावर (पाकिस्तान), फागुन ५ गते । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः रक्तरञ्जित बनेको छ । दुई बम आक्रमण र सुरक्षाकर्मी तथा आतङ्ककारीबिचको गोली हानाहानमा कम्तीमा १४ सुरक्षाकर्मी र एक बालिकासहित तीन सर्वसाधारणको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
अफगानिस्तान सीमावर्ती क्षेत्रहरूमा विद्रोह नियन्त्रण अभियान तीव्र पारिरहेका बेला यी छुट्टाछुट्टै आक्रमण भएका हुन् । यसै महिना इस्लामिक स्टेट समूहले इस्लामाबादस्थित एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटको जिम्मेवारी लिँदै ३१ जनाको ज्यान गएको र १६९ जना घाइते भएको दाबी गरेको थियो ।
सेनाको विज्ञप्तिअनुसार बाजौर जिल्लामा सुरक्षाचौकी नजिकै विस्फोटकले भरिएको गाडी ठोक्काइँदा ११ सुरक्षाकर्मी र एक बालिकाको ज्यान गएको छ । विस्फोटबाट आसपासका आवासीय भवनमा गम्भीर क्षति पुगेको र सात जना घाइते भएको जनाइएको छ । सेनाले उक्त घटनालाई ‘कायरतापूर्ण आतङ्कवादी आक्रमण’ भन्दै यसको दोष ‘भारतीय प्रोक्सी’ समूहलाई दिएको छ । घटना स्थलबाट भाग्दै गरेका एक दर्जन आतङ्ककारी मारिएको दाबी पनि गरिएको छ । नाम नखुलाउने सर्तमा एक सुरक्षा अधिकारीले विस्फोटक बोकेको गाडी धार्मिक कलेजको पर्खालमा ठोक्किएको बताए ।
बन्नु सहरको मिर्यान प्रहरी चौकीमा भएको अर्को विस्फोटमा रिक्शामा राखिएको बम पड्किँदा दुई सर्वसाधारणको मृत्यु भएको र १७ जना घाइते भएको अधिकारीले बताएका छन् । यसै प्रान्तको साङ्ला जिल्लामा खोजी अभियानका क्रममा तीन प्रहरी र तीन आतङ्ककारी मारिएका छन् । खैबर पख्तुनख्वा प्रहरीका अनुसार मारिएका आतङ्ककारी चिनियाँ नागरिकलाई लक्षित आक्रमणमा संलग्न थिए ।
पछिल्ला वर्षमा पाकिस्तानमा चिनियाँ लगानी तीव्र रूपमा बढेको छ । विशेष गरी चीन-पाकिस्तान आर्थिक कोरिडोर (सिपिइसी) अन्तर्गतका पूर्वाधार, ऊर्जा र यातायात परियोजनामा लगानी बढेको छ । तर ती परियोजनालाई लक्षित गर्दै चिनियाँ नागरिकमाथि पटक-पटक आक्रमण हुँदै आएका छन् । गत वर्ष मार्चमा एक बाँध निर्माण स्थलमा काम गरिरहेका पाँच चिनियाँ नागरिक र उनीहरूका चालक आत्मघाती आक्रमणमा मारिएका थिए, जसमा उनीहरूको गाडी काराकोरम राजमार्गबाट गहिरो खोँचमा खसेको थियो ।
बेइजिङ इस्लामाबादको प्रमुख क्षेत्रीय साझेदारका रूपमा रहँदै आएको छ र आर्थिक सहयोगमार्फत सम्बन्ध सुदृढ बनाइ रहेको छ । तर सुरक्षा चुनौती कायम रहेकाले रणनीतिक सडक कोरिडोर र चिनियाँ परियोजनाहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको प्रहरी विज्ञप्तिमा उल्लेख गरिएको छ । लगातारका आक्रमणले सीमावर्ती क्षेत्रमा अस्थिरता बढाइरहेका बेला सुरक्षाबलले विद्रोही गतिविधि नियन्त्रण गर्न अभियान अझ तीव्र बनाउने सङ्केत दिएका छन् । रासस/एएफपी