राममणि दाहाल
मकवानपुर, फागनु ५ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारस्थित सडक खण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नं. को मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नं.को टिप्परले मङ्गलबार दिउँसो ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक जगदिश थारुको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रुपन्देही जिल्लाका २८ वर्षीय थारुलाई हेटौँडामा अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार दाङको राप्ती गाउँपालिका ६ का २२ वर्षीय आदित्य चौधरीको हेटौँडा अस्पताल मकवानपुरमा उपचार भइरहेको छ । उक्त मोटरसाइकललाई ठक्कर दिने टिपर, टिपर चालक हेटौँडा उपमहानगरपालिका १५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।